राजनीति

नेकपा एकता जोगाउने मिशनमा असफल चिनियाँ टोली

काठमाडौँ ।  नेकपा एकता जोगाउने मिशनमा  असफल भएको छ चिनियाँ टोली । एकता प्रक्रियाले पूर्णता नपाउँदै विभाजनमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटलाई पुनः एकतामा बदल्ने मिसनका साथ आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल सो ‘मिशन’ सफलता हात पार्न नसकी चीन फर्किएको हो । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै आन्तरिक किचलोमा रहँदै आएको नेकपा दुई भागमा विभाजन भएको छ । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी जितपिङको टोली एकता सन्देश लिएर गएको  आइतबार काठमाडौँ आएको टोली आज बुधबार स्वदेश फर्किएको हो । 

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहितको तीन सदस्यीय टोलीले आएकै दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

भोलिपल्ट सोमबार चिनियाँ टोलीले विभाजित नेकपाको अर्को खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भिन्दाभिन्दै भेट गरेको थियो । सोही दिन विघठित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा तथा पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता डा. बाबुराम भट्टराईसँग पनि चिनियाँ टोलीले भेट गरेको थियो ।

मंगलबार चिनियाँ टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा भेटेर फरक सन्देश दिन खोज्यो ।  

नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि उनीहरुलाई पुनः एक ठाउँमा ल्याउन चिनियाँ टोली आएको भनिएका बेला त्यसलाई उनीहरुले खण्डन गर्दै नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदान जस्ता विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको स्पष्ट पारेको जनाइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत