गाउँ सहर

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस,सधैँ सान्दर्भिक उनक केही दिव्योपदेश

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । 

प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदै छ । 

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । 

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत  दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुंगाबीचको तरुलको संज्ञा दिएका थिए । 

पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । 

उनको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो । 

उनका केही उपदेशहरू

१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।

३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।

४. सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।

५. जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।

६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।

७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।

८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।

९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।

१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।

११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।

१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।

१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।

गाउँ सहर संवाददाता

तपाईँको मत