गाउँ सहर

१६ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र

लेखनाथ । समग्र गण्डकी प्रदेश कै आर्थिक समाजिक तथा शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले पोखरा २७ लेखनाथको तालचोकमा पौष ३ गतेदेखि संचालन हुने १६ औं सस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र  पारिएको छ ।

महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र समृद्धि भन्ने नारालाई सार्थक रुप दिनका लागि आयोजना गरिएको महोत्सवका बारेमा जानकारी दिने उद्देश्यले बुधवार राखिएको पत्रकार सम्मेलनमा तयारी तीब्र रुपमा अगाडि बढेको र अहिलेसम्म महोत्सवमा राखिने तीन सय ३६ स्टल मध्ये ६० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको जानकारी गराईएको हो ।

दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिवलका स्टलहरु रहने प्रचार प्रसार उप-समितिका संयोजक उपेन्द्रराज सुवेदीले जानकारी  गराएका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सह-आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा हुन लागेको महोत्सवमा करिब दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बराबरको आर्थिक कारोबार हुन सक्ने अनुमान आयोजकहरुले गरेका छन् ।

महोत्सवमा करिब एक करोड ३० लाख आम्दानी भई एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ भने बचत हुन आएको रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नती, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने बताईएको छ ।

महोत्सवलाई ब्यवस्थित र प्रभावकारी तरिकाले संचालन गर्नका लागि आठ सदस्यीय निर्देशक समिति, २७ सदस्यीय सल्लाहकार समिति, विभिन्न उप समिति र कार्यसम्पादन समिति गठन गरि तयारीलाई अगाडी बढाईएको छ ।

लेखनाथको तालचोकमा संचालन हुने महोत्सवले विशेष गरि औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजारीकरण, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने उद्देश्य राखेको छ ।

त्यसैगरी महोत्सवले आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षण गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन सहयोग पुर्‍याउने लक्ष्य राखेको गरिएपनि यसपटक  फरक शैलीको बनाउने बताइएको छ ।

आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रयोजक एड्भान्स ग्रुपको एड्भान्स सिमेन्टका बिक्री र प्रतिनिधी राजेन्द्र ओझा, पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारी लगायतले महोत्सवलाई सफल पार्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने सुझाव राखेका थिए ।

संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।

तपाईँको मत