पूर्वाधार

पोखरामा चैते धानको पकेट क्षेत्र घोषणा गर्न छलफल

पोखरा । वर्षे धान मात्र लगाउने प्रचलन बढी भएकाले नेपालीको मुख्य खाद्य वस्तु धान समेत विदेशबाट आयत गर्नु पर्ने वाध्यात्मक अवस्थालाई कम गर्न चैते धानको उत्पादन महत्वपूर्ण छ ।

सरकारले कृषि उत्पादनलाई वढवा दिंदै खाद्यन्नमा आत्मनिर्भर हुने नीति अगाडि सार्दै ठाउँ विशेषका आधारमा पकेट क्षेत्र घोषण गरिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं २६ लाई चैते धानको पकेट क्षेत्रका रुपमा घोषणा गर्न सरोकारवालाहरुवीच छलफल भएको छ ।

वडा भित्र सिँचाई सुविधा पुगेको समथर भुभागको करीव १८ सय हेक्टर जमिनमा चैते धान लगाउन सकिने सम्भावना रहेकाले वडा नं २६ लाई चैते धानको पकेट क्षेत्र घोषणा गर्न छलफल भएको हो । वडा नं २६ मा चैते धानको सम्भाव्यता वढी रहेकाले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा कृषि विकास शाखाले सोही अनुसारको कार्ययोजनालाई अगाडि सारेको हो ।

यसैक्रममा कृषि विकास शाखाको आयोजनामा चैते धान खेतीका वारेमा राखिएको प्राविधी अभिमुखीकरण कार्यक्रममा वोल्दै महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न कृिषयोग्य फाँटहरु मध्येमा वडा नं २६ मा विजयपुर सिंचाई प्रणालीको पानी र यहाँको वातावरण एवम् भौगोलिक आधारले पनि यस क्षेत्रमा चैते धानको

राम्रो उत्पादन हुने भएकाले ५० प्रतिशत अनुदानमा किसानसँगको साझेदारीमा चैते धान उत्पादनलाई प्रथामिकता दिएको बताए ।
चैते धानको उत्पादनलाई कसरी प्रविधिमैत्री र ब्यवसायिक बनाउन सकिन्छ भन्ने उदेस्यले चैतेको धानको विउदेखि उत्पादन लागतमा पनि ५० प्रतिशत अनुदानको ब्यवस्था गरिएको प्रमुख कडरीयाको भनाई रहेको छ ।

कार्यक्रममा पोखरा महनगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडालाई चैते धानको पकेट क्षेत्र साथै तरकारी र पशुपालनको क्षेत्रलाई पनि बढवा दिँदै कृषिलाई ब्यवसायीककरण गर्ने योजनामा आफूहरु रहेको वताउदै गत वर्ष एक हजार छ सय केजी चैते धानको विउ वितरण गरिएकोमा यो वर्ष करीव तीन हजार केजी भन्दा वढी विउको माग आएकाले किसानहरुमा चैते धान उत्पादनतर्फ आकर्षण बढेको पुष्टि भएको बताएका थिए ।

वडा स्तरीय कृषि सञ्जाल पोखरा २६ का अध्यक्ष केशवराज ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी भटराई, कृषि सेवा केन्द्र पोखरा २६का प्रमुख रामचन्द्र पौडेल, सञ्जालका सचिव ईश्वरराज भण्डारी,सदस्य विश्वप्रकाश बराल र कृषकको तर्फबाट शीला भण्डारीले परम्परागत कृषि प्रणाली भन्दा फरक शैली र प्रविधिको प्रयोग गरी थोरै जग्गाबाट पनि धेरै उत्पान गर्न सकिने बताएका थिए ।

यस क्षेत्रका लागि चैते –५ धानको बिउ सिफारिस गरिएको छ भने एक रोपनी खेतको लागि करिव २.५ केजी धानको विउ भए पुग्ने र त्यसका लागि महाशाखाले विउमा ५० प्रतिशत र प्रतिरोपनी नौ सयका दरले अनुदान दिने ब्यवस्था समेत मिलाएको छ ।

विष्णुहरि पाैडेल

तपाईँको मत