दृष्‍टिकोण

हामीले खोजेको नेतृत्व कस्तो ?

संसारभरिका जुनसुकै दल, सरकार वा समाजमा दुईथरी नेतृत्व क्रियाशील छन । पहिलाे प्रजातान्त्रिक नेतृत्व दाेस्राे निरंकुश नेतृत्व । आजको प्रजातान्त्रिक युगमा पनि निरंकुश नेतृत्व हुन सक्छ र भन्ने सोच आउन सक्छ । हुन सक्दोरहेछ तर लामो समय टिक्न नसक्ने रहेछन् ।

निरंकुश नेतृत्व : कयौँ दल, सरकार तथा समाजमा निरंकुश नेतृत्वले यदाकदा राज गरेको पाइन्छ तर उसको अन्त्य कारुणिक हुन्छ । यस्तो नेतृत्वमा पनि जन समर्थन हुन्छ र उनीहरु आफुलाई जनउत्तरदायी नै ठान्छन् । निर्णयको सबै अधिकार नेतृत्वमा मात्र सीमित राख्ने एवं अन्य सबैलाई प्रयोगको साधन सरह व्यवहार गर्ने चरित्र यस्तो नेतृत्वमा हुन्छ ।

आफू मातहतका कुनै पनि इकाईका तहगत निर्णय यस्तो नेतृत्वले मान्दैन । विषेशत पार्टीलाई सधैँ आफुले प्रयोग गर्ने र आफुलाई नै सर्वमान्य ठानेर कसैले विपक्षमा बाेले पार्टी विरुद्ध बाेलेको ठान्ने अधिनायकवादी चिन्तन पनि यस्तो नेतृत्वमा हुन्छ । पार्टीको पक्ष तथा नेतृत्वको विपक्षमा कसैले आवाज उठायो भने निरंकुश शैलीले त्यस्ता आवाज उठाउनेलाई पाखा लगाउने, अवसरबाट बन्चित गराउने तथा निषेधको राजनीति गर्ने शैली यस्तो नेतृत्वमा हुन्छ । समूह वा संगठनभन्दा सधैँ आफुलाई माथि राख्ने तदनुरुप समूह वा संगठनलाई कारिन्दा सरहको व्यवहार गर्ने शैली निरंकुश नेतृत्वको विषेशता हाे । महत्त्वपूर्ण विषयहरुमा कसैको राय, सुझाव लिने र पारदर्शी निर्णय गर्ने गुण यस्तो नेतृत्वमा हुँदैन । शक्ति आफुमा केन्द्रित गर्ने, सबै निर्णय एकल गर्ने र उच्चस्तरकासमेत सबै तहमा नियन्त्रणको प्रयास गर्ने शैली यस्तो नेतृत्वमा हुन्छ । नीति, विधानलाई प्रधान नमानी लाभ र हानीको ज्ञान गर्न नसक्नु, आवेगमा निर्णय गरेर फुर्सदमा पछुताउनु यसका विषेशता हुन् । यस्तो प्रकृतिको कारण यस्ता नेतृत्व क्षणिक सफल भएपनि लामो समय टिक्न सक्दैनन् ।

सबै नियम र कानुनको आफैँ प्रयोग गर्ने, दललाई प्रयोगको थलो बनाउने र दलभन्दा व्यक्तिगत चिन्तनका कारण यस्तो नेताले नेतृत्व गरेको दल एक चुनावभन्दा बढि टिकेको इतिहास प्राय: छैन । उदाहरण हाम्रो वरिपरि नै छ । दलको मुल विचारलाई वन्धक राखेर, सत्ता प्राप्तिको अवसरवादी चिन्तनबाट ग्रसित हुनु, दललाइ प्रयोगको मैदान बनाउनु, आफ्ना अन्य समकक्षी वा अनुयायीहरुलाई वस्तु वा पदार्थ सरहको व्यवहार गर्नु र मात्रै सत्ता केन्द्रित सोचका कारण यस्ता नेताले दलले बोकेको पवित्र उद्देश्यलाई गन्तव्यमा पुराउन सक्दैन । आफू अन्तरगतका सब समिति र सदस्यहरुलाई दास (Slave) सरह व्यवहार गर्ने सवै तहमा अधिकारसहित श्रोत,साधानमा एकलौटी गर्ने र यसका विरुद्ध कसैले आवाज उठाए त्यसलाई नियन्त्रण वा निषेध यस्ता नेतृत्वले गर्छन् ।

करनी र कथनिमा विलकुल फरक रहने यस्ता नेतृत्वले यदाकदा आफुलाई प्रजातान्त्रिक छाता ओढे झैँ देखाउछन् तर यहि छाताभित्र निरंकुशता साँध्दै आफुलाई समाजमा प्रस्तुत गरिरहेको पत्तै पाउदैन । फलस्वरूप यस्ता व्यक्ति उपर जग हासिरहेको हुन्छ । हाम्रो वरिपरि पनि यस्ता नेतृत्वले राज नगरेका हैनन् तर कोही हराएर गए कसैलाई समयले हराउँदैछ ।

प्रजातान्त्रिक नेतृत्व : प्रजातान्त्रिक नेतृत्वमा शक्ति र अधिकारको कुशल प्रयोग गर्ने क्षमता हुन्छ । सामुहिक भावना अनुसार उचित निर्णय लिने विषेश गुण हुन्छ । यस्तो नेतृत्वले संगठन वा समूहलाई शक्तिको श्रोत मान्दछन् मुख्यत संगठनको लक्ष्य निर्धारण गरेर संरचना तयार गर्ने कार्य प्रजातान्त्रिक नेतृत्वले गर्छ । सम्पूर्ण अधिकारहरु आवश्यकता अनुसार तल्लो तहसम्म हस्तान्तरण गर्ने विशेष क्षमता पनि यस्तो नेतृत्वमा हुन्छ । विचारको बहस गर्न छुट दिने हरेक खालको निर्णयमा सबैलाई सहभागी गराउने गुण प्रजातान्त्रिक नेतृत्वमा पाइन्छ । दल बलियो भएमात्र भविप्य सुरक्षित रहन्छ भन्ने चिन्तन बाेकेर यस्तो नेतृत्व हिड्छन् ।

समूह वा संगठन कर्तालाई गुण र दोषको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने चरित्र प्रजातान्त्रिक नेतृत्वमा देखिन्छ । दललाई साझा सम्पति ठान्ने र दलभित्रका सबै सहयात्री वा अनुयायीहरुलाई आफू बराबर नै ठानेर सबै अधिकार तथा श्रोत साधनमा समेत यस्तो नेतृत्वले हिस्सेदार बनाउछन् । आवेगमा हाेइन सामुहिक छलफल पछिको निर्णय, विधि र विधानलाई शीरमा राखेर अगाडि बढने चरित्र तथा आफ्नो विपक्षमा हुने बहसलाई साेत स्थान दिने गुण प्रजातान्त्रिक नेतृत्वमा पाइन्छ । व्यक्तिगत जीवन शैली साधारण रहने, कार्यकर्ता दास हैनन् अंशियार हुन भन्ने सोचाइ राख्ने, कार्यकर्तालाई सर्वमान्य ठान्दै मित्रवत व्यवहार गरेर दललाई माथिल्लो स्थानमा पुराउने मात्रै चिन्तन यस्तो नेतृत्वमा हुने गर्दछ ।

दलले बाेकेको पवित्र उद्देश्यलाई बिना छलछाम, गन्तव्यमा पुराउन प्रजातान्त्रिक नेतृत्वले मात्र सक्दछ । करनी र कथनीमा समानता देखिने सबै कामको जिम्मेवारी बाँडफाँड गर्ने, आफू पनि अन्य सराहनै काम गर्ने क्षमता प्रजातान्त्रिक नेतृत्वमा हुन्छ । विषेशत:जनमत भएका, समाजले पत्याएका, इमानदारी, कार्यकर्ता र जनताको भावना बुझेका, आर्थिक तथा सामाजिक रुपमा नचुकेका, गम्भीर विषयको व्याख्या गर्न सक्ने क्षमता भएकाहरुको सहयोग प्रजातान्त्रिक नेतृत्वले लिने कारण संसारभरी यस्तो नेतृत्व सफल रहन्छ । हामी चाहीँ कस्तो नेतृत्व चाहने ?

 

गाउँ सहर संवाददाता

तपाईँको मत