राजनीति

एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत

काठमाडाैं । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका छन्। खड्काभन्दा सुहाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा एवं संविधान सभाका अध्यक्ष एमाले नेता सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त रहेको उक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो।

रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत

निर्वाचन जित्ने भनेर दाबी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ। 

प्रतिनिधिसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत नआए स्वतः जमानत जफत हुने व्यवस्था छ। लिम्बूले ५ हजार ५० मत ल्याएका छन्। 

निर्वाचन आयोगका अनुसार यहाँ खसेको कूल मतको ६८ हजार ४ सय ७२ मत सदर भएको छ। यो अनुसार मिलनले ७.३७ प्रतिशत मात्रै मत पाएका छन्। 

यहाँ जम्मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन्। जसमध्ये गत शनिबार (वैशाख १५) भएको उपनिर्वाचनमा ६९ हजार ३ सय ७४ मत खसेको थियो। त्यसमध्ये ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ।

तपाईँको मत