गाउँ सहर

भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी तथा मनसुनजन्य विनाशकारी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको चरण सकिएको जनाएको छ। अब प्रभावित क्षेत्रमा खोज तथा पुनर्लाभ (सर्च एन्ड रिकभरी) र अस्थायी आवास निर्माणको चरण सुरु गरिएको प्राधिकरणले जनाएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सुरक्षा निकायबाट प्राप्त प्राविधिक ब्रिफिङअनुसार बाढीग्रस्त क्षेत्रमा अब जीवित व्यक्ति फेला पर्ने सम्भावना अत्यन्त न्यून रहेको बताए।

उनका अनुसार प्रभावित क्षेत्रमा जीवित व्यक्ति भेटिने सम्भावना ९९.९ प्रतिशत नरहेको निष्कर्षपछि उद्धारको चरणबाट पुनर्लाभको चरणमा प्रवेश गरिएको हो। यद्यपि दुईवटा टनेल तथा अन्य भग्नावशेषमा खोजी कार्य भने जारी रहने उनले स्पष्ट पारे।

“उद्धार गर्नुपर्ने अवस्था नरहेकाले अब हामी पुनर्लाभ र अस्थायी बसोबास निर्माणको नयाँ चरणमा गएका छौँ,” डा. उप्रेतीले भने।

अस्थायी आवास निर्माण गरिने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी प्रभावितलाई तत्काल अस्थायी आवास निर्माण गरी पुनर्स्थापना गर्ने निर्णय गरेको छ।

होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको अवस्थालाई ध्यानमा राख्दै सरकारले अस्थायी आवासको मोडेल तय गर्ने र विकास साझेदार तथा गैरसरकारी संस्थासँगको सहकार्यमा आवास निर्माण अघि बढाउने प्राधिकरणले जनाएको छ।

अस्थायी आवास निर्माणका लागि सुरक्षित जग्गा पहिचान भइसकेको र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी त्यसलाई अन्तिम रूप दिइने डा. उप्रेतीले बताए।

बेपत्ताको विवरण प्रमाणीकरण गरिने

बेपत्ता नागरिकको विवरण सम्बन्धित स्थानीय तहले प्रमाणीकरण गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्राधिकरणमा पठाउने व्यवस्था मिलाइएको छ।

त्यस्तै, मृतकका परिवारलाई राहत उपलब्ध गराउने तथा मृत्यु घोषणा वा मृत्युसरह घोषणा गर्न देखिएको कानुनी जटिलता समाधान गर्न कानुन संशोधनको प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

डा. उप्रेतीका अनुसार कानुन मन्त्रालयको ब्रिफिङअनुसार १० देखि १५ दिनभित्र अध्यादेश वा चालु अधिवेशनमार्फत कानुनी प्रक्रिया टुंग्याउने तयारी छ।

शव पहिचानका लागि डीएनए परीक्षणको कामसमेत तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

पीडीएनए प्रतिवेदन तयार गरिने

बैठकले बाढी तथा विपद्पछि भएको समग्र क्षतिको मूल्याङ्कन गर्न पीडीएनए (Post-Disaster Needs Assessment) प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ।

त्यसैगरी, एसियाली विकास बैंकलगायत दातृ निकायबाट प्राप्त अनुदान परिचालन गर्ने तथा ‘विपद्मा सम्मान तथा पुरस्कार मापदण्ड, २०८३’ स्वीकृत गर्ने निर्णयसमेत भएको छ।

प्राधिकरणले विपद्को विषम परिस्थितिमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत