सडक/यातायात

जनकपुर–अयोध्या सीधा रेल सेवा मंसिर ७ देखि सञ्चालन गर्ने तयारी, ६०४ किलोमिटरको यात्रा सहज हुने

जनकपुरधाम । जनकपुरलाई भारतको उत्तर प्रदेशस्थित धार्मिक सहर अयोध्यासँग सीधा रेलमार्गबाट जोड्ने तयारी गरिएको छ । जयनगर–जनकपुर–भंगहा रेल सेवामार्फत अयोध्यासम्म रेल सञ्चालन गर्ने प्रस्ताव अघि बढाइएको हो । सेवा सञ्चालनमा आएपछि जनकपुरबाट अयोध्यासम्म करिब ६०४ किलोमिटरको रेल यात्रा गर्न सकिनेछ ।

प्रस्तावित जनकपुर–अयोध्या रेल सेवा मंसिर ७ गतेदेखि सञ्चालन गर्ने तयारी छ । मंसिर ६ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा सेवाको उद्घाटन गर्ने तयारी गरिएको बताइएको छ ।

भारतको रेल मन्त्रालयले उक्त रेल सेवा सातामा एकपटक सञ्चालन गर्न स्वीकृति दिएको छ । प्रस्तावित तालिकाअनुसार प्रत्येक शनिबार जनकपुरबाट अयोध्याका लागि रेल छुट्नेछ भने सोमबार अयोध्याबाट जनकपुर फर्किनेछ ।

प्रस्तावित रेलमार्ग जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या पुग्नेछ । यसले जनकपुरलाई भारतका विभिन्न सहरसँग जोड्नुका साथै लामो दूरीको रेल यात्राका लागि नयाँ विकल्प उपलब्ध गराउनेछ ।

५२ किलोमिटरको रेलमार्गबाट अयोध्यासम्म पहुँच

नेपालमा हाल जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको भंगहासम्म ५२ किलोमिटर रेलमार्गमा यात्रुवाहक रेल सञ्चालन हुँदै आएको छ । यही रेलमार्गलाई भारतीय रेल सञ्जालसँग जोडेर अयोध्यासम्म सीधा सेवा विस्तार गर्ने तयारी गरिएको हो ।

लामो दूरीको रेल सञ्चालन गर्न सकिने अवस्थाबारे यसअघि नेपालतर्फको रेलमार्गमा प्राविधिक परीक्षणसमेत गरिएको थियो । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणका क्रममा १७ डिब्बासहितको रेलमार्फत परीक्षण गरिएको थियो ।

रेल विभागका महानिर्देशक परिवेशराज पराजुलीले यसअघि रेलमार्गको क्षमता, लिकको अवस्था र आवश्यक प्राविधिक सुधारबारे परीक्षण गरिएको बताएका थिए । प्रस्तावित सेवामा हाल नियमित सञ्चालनमा रहेको रेलभन्दा बढी क्षमताको रेल प्रयोग गर्ने तयारी छ ।

समझदारीअनुसार नेपालतर्फको रेलमार्ग र सञ्चालनसम्बन्धी जिम्मेवारी नेपाली पक्षले तथा भारतीय रेल र भारततर्फको व्यवस्थापन भारतीय पक्षले सम्हाल्नेछ । नेपालले आफ्नै व्यवस्थापनमा सेवा सञ्चालन गर्ने तयारी पूरा नगरेसम्म भारतीय रेलमार्फत सेवा सञ्चालन गर्ने सहमति भएको छ । प्रारम्भिक चरणमा टिकटको मूल्यसमेत भारतीय पक्षले निर्धारण गर्ने बताइएको छ ।

धार्मिक पर्यटन र व्यापारिक गतिविधि बढ्ने अपेक्षा

हिन्दु धार्मिक मान्यताअनुसार जनकपुरलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमि मानिन्छ । रामायणसँग जोडिएका यी दुई सहरबीच ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ ।

जनकपुरको जानकी मन्दिर र अयोध्याको राममन्दिर दर्शन गर्न चाहने श्रद्धालुका लागि प्रस्तावित रेल सेवा सहज यातायात विकल्प बन्न सक्नेछ । सेवा सञ्चालनमा आएपछि नेपाली तीर्थयात्रीलाई अयोध्या र भारतीय श्रद्धालुलाई जनकपुर पुग्न सहज हुने अपेक्षा गरिएको छ ।

यसले सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । भारतीय पर्यटकको आवागमन बढेमा जनकपुरका होटल, रेस्टुरेन्ट, यातायात व्यवसाय तथा स्थानीय व्यापारमा सकारात्मक प्रभाव पर्न सक्नेछ । त्यस्तै, अयोध्या जाने नेपाली यात्रुले पनि लामो दूरीको रेल यात्राको विकल्प पाउनेछन् ।

प्रारम्भिक चरणमा सातामा एकपटक मात्रै रेल सञ्चालन गर्ने तयारी छ । यात्रुको चाप र सेवाको प्रभावकारिताका आधारमा आगामी दिनमा सेवा विस्तार गर्न सकिने सम्भावना छ ।

काठ ढुवानीबाट यात्रुवाहक रेल सेवासम्मको इतिहास

जनकपुर रेलमार्गको इतिहास सन् १९३७ सम्म पुग्छ । तत्कालीन समयमा महोत्तरी क्षेत्रका जंगलबाट काठ ढुवानी गर्ने उद्देश्यले निर्माण गरिएको रेलमार्गले पछि स्थानीय बासिन्दाको आवागमन र सामान ढुवानीमा समेत महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

बाढीका कारण पुलमा क्षति पुगेपछि पुरानो रेल सेवा प्रभावित भएको थियो । त्यसपछि न्यारोगेज रेलमार्गलाई ब्रोडगेजमा स्तरोन्नति गरी पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको थियो ।

जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग विस्तार आयोजनाअन्तर्गत स्तरोन्नति गरिएको जयनगर–कुर्था खण्डमा २०७८ चैतमा रेल सेवा पुनः सञ्चालन भएको थियो । त्यसपछि २०८० असार ३१ गते कुर्थादेखि भंगहासम्मको थप १७ किलोमिटर खण्डमा सेवा विस्तार गरिएको थियो ।

हाल जयनगर–कुर्थाको ३५ किलोमिटर र कुर्था–भंगहाको १७ किलोमिटर गरी कुल ५२ किलोमिटर रेलमार्गमा नियमित यात्रुवाहक सेवा सञ्चालन भइरहेको छ ।

प्रस्तावित जनकपुर–अयोध्या रेल सेवा सञ्चालनमा आएमा यही रेलमार्ग हुँदै नेपाली यात्रुले भारतको लामो दूरीको रेल सञ्जालमा सीधा पहुँच पाउनेछन् । यसले जनकपुरको धार्मिक पर्यटनसँगै सीमापार यातायात र आर्थिक गतिविधिमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत