गाउँ सहर

प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको भारतीय आकाश हुँदै थप हवाई रुट उपलब्ध गराउने विषयसहित दुई देशबीचका विभिन्न द्विपक्षीय मुद्दामा छलफल तथा सहमति जुटाउने तयारी छ।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर ६ गते नयाँदिल्ली पुग्नेछ। सोही दिन भारतीय प्रधानमन्त्री मोदीसँग औपचारिक भेटवार्ता तथा द्विपक्षीय छलफल हुनेछ। भ्रमणका क्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम रहेको भ्रमणबारे जानकार एक अधिकारीले बताएका छन्।

एक्लाएक्लै भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ। वार्तामा हवाई रुटको विषयसँगै नेपाल–भारत सम्बन्ध, आपसी सहयोग र अन्य द्विपक्षीय सरोकारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। दुईदिने भ्रमण पूरा गरी प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्कनेछन्।

नेपालले लामो समयदेखि भारतीय आकाश हुँदै थप हवाई रुट उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। यस विषयमा भ्रमणका क्रममा ठोस समझदारी बन्ने अपेक्षा गरिएको छ। त्यसो हुन सके नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्नेछ।

यसअघि नेपालका प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले सन् २०१६ र २०१८ मा भारतको दुईपटक राजकीय भ्रमण गरेका थिए। त्यसैगरी पुष्पकमल दाहालले सन् २०१६ मा र शेरबहादुर देउवाले सन् २०१७ मा भारतको राजकीय भ्रमण गरेका थिए।

गाउँ सहर संवाददाता

तपाईँको मत