उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठ पर्व सम्पन्न हुँदै
- गाउँ सहर संवाददाता
- ३० कार्तिक सोमबार, २०८३ | ०६:४५:०० मा प्रकाशित
काठमाडौँ । चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न हुँदैछ । मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा रहेका नदी, पोखरी, तलाउ तथा जलाशयमा श्रद्धालु भक्तजनले उदाउँदो सूर्यको पूजा आराधना गर्दै पर्व मनाइरहेका छन् ।
छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू छठघाटमा पुगेर जलाशयमा पसेका छन् । उनीहरूले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकै विधि दोहोर्याउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्दैछन् ।
सत्य, अहिंसा र मानव कल्याणप्रति प्रेरित गर्ने यस पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगव्याधिबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालुहरूले श्रद्धापूर्वक छठ मनाउने गर्छन् ।
सूर्य उपासनाको विशिष्ट परम्पराका रूपमा रहेको छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिन्छ । यस पर्वका अवसरमा नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा बनाइएका छठघाटमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नहाय–खाय विधि गरेका थिए । यस दिन स्नान गरी शुद्ध भोजन ग्रहण गरेर व्रतको सुरुआत गरिन्छ । दोस्रो दिन खर्ना मनाइएको थियो । खर्नाका दिन व्रतालुहरू दिनभरि निराहार उपवास बसेर साँझ छठी माताको पूजा गरी प्रसाद ग्रहण गर्छन् ।
तेस्रो दिन षष्ठी तिथिमा व्रतालुहरूले गहुँ र चामलबाट तयार पारिएका ठकुवा, भुसुवा, खजुरिया, पेरुकियालगायत परम्परागत परिकार तथा विभिन्न फलफूल र पूजासामग्री नाङ्लो, कोनिया र ढाक्कीमा सजाएर छठघाट पुर्याएका थिए ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिने क्रममा व्रतालुहरूले जलाशयमा पसेर सूर्यास्त नहुँदासम्म पूजा आराधना गरेका थिए । दुवै हातमा पिठार र सिन्दूर लगाई अक्षता, फूल तथा अन्य पूजासामग्रीसहित सूर्यलाई अर्घ्य अर्पण गरिएको थियो । त्यसैको निरन्तरतास्वरूप आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
धार्मिक आस्था र सामाजिक सद्भावको पर्व
छठ पर्वको उत्पत्तिसम्बन्धी विभिन्न धार्मिक तथा लोकमान्यता प्रचलित छन् । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू त्यस समयमा मिथिलाको किराँत राजाको क्षेत्रमा बसेको र त्यही समयदेखि छठ मनाउने परम्परा सुरु भएको लोकविश्वास छ ।
त्यस्तै, सूर्य पुराणमा पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख पाइन्छ । व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक मान्यता छ ।
धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहअस्तित्वको पर्वका रूपमा समेत छठ विकसित भएको छ । हिन्दू समुदायका साथै मुस्लिम समुदायका केही व्यक्तिले पनि यस पर्वमा सहभागिता जनाउने गरेका छन् ।
छठमा चढाइने पूजासामग्रीको संख्या ७० पुर्याउनुपर्ने धार्मिक मान्यता रहे पनि आर्थिक अवस्था कमजोर भएका वा सबै सामग्री जुटाउन नसक्नेहरूले गम्हरी धानको चामल मात्र चढाए पनि छठी माता प्रसन्न हुने जनविश्वास छ ।
आस्था, अनुशासन, पवित्रता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वले पारिवारिक एकता र सामाजिक सद्भावको सन्देशसमेत दिने गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने
- मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, बढाउने बैंक शून्य
- एनपीएलको फाइनल पुग्न चार टोलीबीच प्रतिस्पर्धा
- केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
- जनकपुर–अयोध्या सीधा रेल सेवा मंसिर ७ देखि सञ्चालन गर्ने तयारी, ६०४ किलोमिटरको यात्रा सहज हुने
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
- रारातर्फ जाँदै गरेको हाइलक्स ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
- छठको रौनक: अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो ‘सझिया अरख’
- एनपीएल–३ : कर्णाली याक्ससँग पराजित हुँदै चितवनले लिग चरण टुंग्यायो
- मधेशका आठै जिल्लामा छठको रौनक, जनकपुरधामका पोखरी झकिझकाउ
प्रतिकृया दिनुहोस