कृषि

मौरीपालनबाटै लाखाैँ कमाउँछन् श्रीभद्र, कम लगानी-मनग्य आम्दानी

पोखरा । कास्कीको पोखरा महानगरपालिका–३३ ठुल्ढुङ्गाका कृषक श्रीभद्र बरालले मौरीपालनबाटै मनग्य आम्दानी गर्दै आएका छन् । ठुल्ढुङ्गा गण्डकीवेसी खल्याडमा विगत २५ वर्षदेखि उनले मौरीपालन गरिरहेका छन् ।

कास्की जिल्ला मौरीपालक सङ्घका अध्यक्ष समेत रहेका उनले हाल आफ्नो साकुरा एपियारी फर्ममा एक सयभन्दा बढी घार मौरी पालेका छन् । आफूले मौरीपालनबाट वार्षिक रु १० लाखसम्म आम्दानी गरेको उनको भनाइ छ ।

लामो समयको मौरीपालन अनुभवले खारिएका उनी आम्दानीसँगै अहिले विभिन्न ठाउँमा पुगेर तालिम समेत दिएर प्रशिक्षकको भूमिका पनि बहन गरिरहेका छन् । सुरुमा दुईवटा घारबाट मौरीपालन सुरु गरेका उनले  विभिन्न तालिम लिदै घार थप्दै गएको बताए । हाल एपि सेरेना जातको मौरीपालन गरिरहेका बरालले समुद्री सतहको आठ सयदेखि अधिकतम तीन हजार मिटरको उचाइमा पनि मौरीपालनको व्यावसायिक खेती गर्न सकिने बताए । 

उनको फर्ममा उत्पादित मह हाल प्रति केजी एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म बिक्री हुने गरेको र जाडो याममा माग तुलनात्मक रुपमा बढी हुने गरेको छ ।

उत्पादित महका लागि बजारको कुनै समस्या नभएको उनको भनाइ छ । कास्कीको पोखरामा नै महले राम्रो बजार लिएको पाइन्छ । तथापि बाहिरबाट आयात हुने कम गुणस्तरको महले सस्तो नाउँमा बजारलाई तलमाथि गर्न सक्ने भने देखिन्छ  ।

बढ्दो बेरोजगारीसँगै भइरहेको विदेश पलायनलाई रोक्दै स्वरोजगारमा बदल्नका लागि मौरीपालन उपयुक्त विकल्प हुनसक्ने बरालले बताए । कम्तीमा ५० वटा मौरीका घारबाट व्यवसाय सञ्चालन गर्न सके आम्दानीका लागि विदेश भौतारिन नपर्ने उनको धारणा छ ।

मौरीपालनमा किसानको आकर्षण बढ्नुका साथै कम लगानी र खर्चमा प्रशस्त आम्दानी हुनथालेपछि मौरीपालन व्यावसायिक बन्दै गएको छ ।

एउटै घारबाट वर्षमा तीन वटासम्म घार छुट्टाउन सकिने उनी बताउँछन् । कम समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले मौरीपालन आयआर्जनका लागि उपयुक्त माध्यम बन्न सक्ने उनको अनुभव रहेको छ । सहरीभन्दा पनि ग्रामीण क्षेत्र मौरीपालनका लागि उपयुक्त हुने बताउँदै उनले यसले गाउँबाट सहरतर्फ भइरहेको बसाइँसराइ रोक्न पनि योगदान गर्न सक्ने समेत बताए ।

मौरीलाई सत्रु कीरा अरिङ्गाल, माउसुली, पहेँले, माकुरा, वन साङ्लो आदिबाट जोगाउन चुनौतीपूर्ण  पनि रहेको उनको भनाइ छ । जङ्गलमा फूल्ने फूलबाट औषधीय गुण भएका रस मौरीले सङ्कलन गर्ने र मौरीबाट बाली उत्पादन पनि बढ्ने उनको भनाइ छ ।

मौरीको सङ्ख्या बढाउनका लागि किसान सचेत बन्नुपर्ने उल्लेख गर्दै उनले सुरुमा घारका सातवटा फ्रेमभरी सकेपछि सुपर कक्ष राख्न सकिने र छाउरा कक्ष भरेपछि सुपरकक्षमा मह उत्पादन हुने बताए । मौरीपालन तोरी, फापरजस्ता कृषिजन्य उत्पादनका लागि पनि उपयोगी हुने बताउँदै उनले मौरीको चर्ने तथा मह सङ्कलन गर्ने स्थान, रूख बिरुवा, तरकारी, तोरी खेतीमा विषादी प्रयोग गर्दा मौरी मर्ने वा मासिने कारण कृषकले सोचेजस्तो फाइदा लिन नसकिरहेका गुनासो पनि गरे ।

मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्नी, रुघाखोकी लगायतको उपचार गर्न सकिने भएकाले आधुनिक घारको विकाससँगै मौरीपालनबाट किसानहरुले मनग्य आम्दानी लिन थालेका पाइन्छ ।  

विष्णुहरि पाैडेल

तपाईँको मत