स्वास्थ्य

चिसाेबाट बालबालिकालाई जोगाउन यी उपाय अपनाउनुस्

काठमाडाैं । चिसो मौसममा खासगरी नवजात शिशु, सुत्केरी, बालबालिका र बुढाबुढीलाई समस्या हुन्छ । उचित व्यवस्थापन गरिएन भने रुघाखोकी, ज्वरो र निमोनिया हुने खतरा हुन्छ। चिसोमा स्वास्थ्य रहन विशेष सावधानी अपनाउनुपर्छ । 

चिसो बढेसँगै अस्पताल तथा स्वास्थ्यचौकीमा बिरामीको घुइँचो बढेको छ। चिसाेमा विशेषगरी बालबालिका बढी प्रभावित हुन्छन् । बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडाबान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सक सुझाव दिन्छन् । विशेषगरी पाँच वर्षभन्दा कम उमेरकालाई रुघाखोकी र निमोनिया हुनसक्ने खतरा हुन्छ । 

चिसाेमा स्वास्थ्य समस्याबाट पार पाउन अपनाउनुस् घरेलु यी उपाय

बच्चाहरुलाई बिहानको घाममा राख्नुपर्छ । यो एकदमै जरुरी छ । यसले भिटामिन डी त प्रदान गर्छ नै चिसो लाग्नबाट बचाउँछ । घाममा राख्दा तोरीको तेलले मालिस गरिदिनुपर्छ ।

साथै बिहान बेलुका मनतातो पानी खुवाउनुपर्छ । सुत्ने बेलामा मनतातो दूध नभए पानी खुवाएर सुताउनुपर्छ । धेरै अभिभावकमा जाडोमा सुन्तलाले चिसो लाग्छ भने मान्यता छ । तर सिजन अनुसारको फलफूल दिनु जरुरी हुन्छ । यस्तै, बदाम पनि खान दिनुपर्छ । यसले तातो बनाउनेछ ।

बच्चाहरुलाई जाडोमा धेरै लुगा लगाइदिने गर्छन् । तर त्यसो गर्नुहुन्न । कहिलेकाँही त्यही लुगा बढी भएर पसिना आउँछ र पसिना सोसेर निमोनिया पनि हुनसक्छ । जाडोमा हिटरको प्रयोग धेरै हुन्छ । तर हिटर र कोइलाले कार्बन्डाइअक्साइड फाल्ने भएर सास फेर्न गाह्रो हुनसक्छ । छालामा पनि असर गर्नसक्छ । हिटर वा कोइलाको प्रयोग सकेसम्म कम गर्नुपर्छ । राति सुत्ने समयमा बच्चालाई डाइपर लगाइदिनुपर्छ । लुगा फेर्दा पनि झन चिसो लाग्नेहुन्छ । त्यसैले रातमा साना बच्चाहरुलाई डाइपरको प्रयोग गर्नु राम्रो हुने उहाँकाे सुझाव छ । 

सुवेदीका अनुसार जाडोमा तातो तथा ताजा खानेकुरामा जोड दिनुपर्छ । तातो झोलिलो खानेकुराले शरीरमा तातो प्रधान गर्नेगर्छ । बच्चाहरुलाई राति सुत्दा मोजा र टोपी लगाइदिने । स्तनपान गराइरहेका महिलालाई दूध खुवाउन नछुटाउने । यसले पनि चिसोबाट बचाउँछ ।

साथै छाला सुख्खा हुनेभएकाले मोस्चराइजर लगाइदिराख्नुपर्छ । नुहाउने बित्तिकै लगाइदिनु अझै राम्रो हुन्छ । बच्चाहरु विद्यालयमा हुँदा घाम ताप्न पाउँदैनन् । त्यसैले शरीर तताउन कसरत गराउनुपर्छ । यस्तै, घरभित्रै खेल्न दिएको राम्रो हुन्छ । डान्स गराउने, उफ्रिने अभ्यास गराउनुपर्छ । तुलसीको पात उमालेर खुवाउन सकिन्छ । यसमा चिसोबाट बचाउन सक्ने तत्व हुन्छ । तातो पानी वा कालो चियामा राखेर खुवाउनुपर्छ ।

चिसो मौसममा कब्जियतको समस्याबाट मुक्ति पाउन  प्रशस्त पानी  पिउनुपर्छ । खानापछि जिराको धुलो खानाले पनि पाचन क्रिया ठिक रहन्छ । रुघा, खोकी, ज्वरो एकसाथ हुँदा पुदिनाको पातको चिया बनाएर नुन वा सख्खर मिलाएर पिउँदा फाइदा हुन्छ ।

जाडोमा छातीमा कफ जमे समाधानका लागि बेसारपानी पिउनुस् । यसबाट कफ बाहिर निस्किन्छ र राहत मिल्छ । चिसोका कारण टाउको दुखेमा दूधमा जाइफल मिसाएर लेप लगाउँदा समस्या दूर हुन्छ । फुटेको ओठमा कोकमको तेल लगाउँदा फाइदा पुग्छ । यसले ओठको त्वचा नरम र मुलायम पनि हुन्छ । कुरकुच्चा फुट्ने समस्यामा प्याजको पेस्ट लगाउँदा आराम हुन्छ ।

चिसोले जीउ दुखेमा ३\४ पोटी लसुन तेलमा पकाएर चिसो भएपछि मालिस गर्दा सञ्चो हुन्छ । जोर्नीको दुखाइबाट छुटकारा पाउन धतुरोको पातमा तेल लगाएर तातो बनाउनुस् र दुखेको स्थानमा बाँध्नुस्। यसले राहत मिल्छ ।

एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत