वातावरण

बाँकेका वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन् ।

राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शम्शेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए । तर कति सङ्ख्यामा मरे भन्ने विषयमा विवरण सङ्कलन भइरहेको उनको भनाइ छ ।

उनले डढेलोबाट हरिण र बँदेलजस्ता जनावर विस्थापित भएको पाइएको बताए । जिल्लाको २५ वटा सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा ठूलो मानवीय क्षति नभए पनि जीवजन्तु केही मरेको र सङ्कटमा रहेको बताइएको छ ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं २, ८, ५ र ६ का सामुदायिक वन डुडूवा गाउँपालिका–५ स्थित गोकुल सामुदायिक वन, वैजनाथ गाउँपालिका–२ को सुनगाभा सामुदायिक वन र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको थियो । जिल्लाको २५ वटा सामुदायिक वनको दुई सय ५० हेक्टर क्षेत्रफल र चक्ला वनको पाँच सय हेक्टरमा डढेलो लागेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत