खेल

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे घाेषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

झण्डै दुई दशक राष्ट्रिय टिमबाट खेलेका खड्काले मंगलबार बिहान ट्विटरमार्फत् सन्यासको घोषणा गरेका हुन् ।

उनले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् । लामो समय नेपाली टोलीको कप्तानी गरेका खड्काले दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए  ।

खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटमा भने आफ्नो सपना अझै बामे सर्दै गरेको उल्लेख गरेका छन् । सन् २००२ मा आफू १५ वर्षको हुँदा क्रिकेट यात्रा सुरु गरेको स्मरण गर्दै खड्काले आफ्ना खेलाडी साथी, प्रशंसक, परिवारसहित सम्पूर्णमा कृतज्ञता व्यक्त गरेका छन् ।

पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए । सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए । १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् । 

पारसको कप्तानीमा नेपाली क्रिकेटका मुख्य उपलब्धि

२००९ नोभेम्बर– एसीसी ट्वान्टी–२० प्रतियोगितामा कप्तानी जिम्मेवारी

२०१०– विश्व क्रिकेट लिग डिभिजन–५ उपाधि

२०११– एसीसी ट्वान्टी–२० कपमा सेमिफाइनल

२०१२– विश्व क्रिकेट लिग डिभिजन–४ उपाधि

२०१२– ट्वान्टी–२० विश्वकप छनोटमा सातौं

२०१३– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि

२०१३– एसीसी ट्वान्टी–२० फाइनल

२०१३– विश्वकप छनोटमा तेस्रो भएपछि विश्वकपमा ऐतिहासिक छनोट

२०१४– ट्वान्टी–२० विश्वकपमा अफगानिस्तान र हङकङलाई हराए पनि बंगलादेशसँग पराजित, समूहबाटै बाहिर

२०१४– एकदिवसीय विश्वकप छनोटमा नवौं हुँदै डिभिजन २ बाट रेलिगेसन

२०१४– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि

२०१५– देखि २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप

२०१७– विश्व क्रिकेट लिग डिभिजन–२ फाइनल

२०१८– एकदिवसीय विश्वकप छनोटमार्फत ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

२०१९– ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित हुँदै बाहिर

 

गाउँ सहर संवाददाता

तपाईँको मत