खेल

केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६ मंगलबारदेखि

काठमाडाैं । युवाहरूको ऊर्जा, नेतृत्व र खेल भावना एकै मैदानमा उतार्ने लक्ष्यसहित दोस्रो संस्करणको ‘गोल्डेन गेट इन्टरनेशनल कलेज केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६’ मंगलबारदेखि सुरु हुने भएको छ। केबीए ग्लोबल प्रा.लि.को आयोजनामा हुने प्रतियोगिता फागुन १२ र १३ गते काँडाघारीस्थित वन डे क्रिकेट एकेडेमी मा आयोजना हुँदैछ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। प्रतियोगितामा १२ वटा अन्तर–कलेज टिमको सहभागिता रहनेछ, जसले दुई दिनसम्म रोमाञ्चक प्रतिस्पर्धा प्रस्तुत गर्नेछन्।

१२ कलेज सहभागी

यस संस्करणमा लिभरपुल कलेज, सिसिआरसी कलेज, पेण्टागन कलेज, नासा कलेज, गोल्डेन गेट इन्टरनेशनल कलेज, रिलायन्स कलेज, ग्रामर कलेज, हिमालयन कलेज, मनास्लु कलेज, पिनाकल कलेज, ब्रिजवाटर कलेज र चाणक्य कलेज सहभागी हुँदैछन्।

अन्तर–कलेजस्तरीय प्रतिस्पर्धाले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धा, सहकार्य र नेटवर्क विस्तारमा टेवा पुग्ने आयोजकको विश्वास छ।

खेलसँगै नेतृत्व र अनुशासन

पत्रकार सम्मेलनमा बोल्दै केबीए ग्लोबलका बिजनेस डेभलपमेन्ट म्यानेजर बिनोद दाहाल उपाध्यायले प्रतियोगिता केवल खेलमा सीमित नभई युवाहरूको नेतृत्व क्षमता, टिमवर्क र अनुशासन विकास गर्ने साझा मञ्च भएको बताए। 'विद्यार्थीलाई पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन आवश्यक छ, जसले उनीहरूको समग्र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउँछ' दाहालले भने।

टाइटल स्पोन्सर गोल्डेन गेट इन्टरनेशनल कलेजका निर्देशक रोहित पौडेलले शिक्षा र खेलकुदबीचको सहकार्यले विद्यार्थीलाई सन्तुलित र प्रतिस्पर्धात्मक बनाउने धारणा राखे। पावर्ड बाइ स्पोन्सर टेकस्पायर कलेजका सीप विकास प्रमुख विजय बाबु रेग्मीले खेलकुदले सीप विकास, नेतृत्व निर्माण र सकारात्मक प्रतिस्पर्धात्मक सोच विस्तारमा महत्वपूर्ण योगदान दिने बताए।

बलियो साझेदारी, व्यापक समर्थन

प्रतियोगितालाई विभिन्न संस्थाहरूले साथ दिएका छन्। बैंकिङ पार्टनर कुमारी बैंक लिमिटेड, मिडिया पार्टनर जुपिटर मिडिया तथा हिमालयन टेलिभिजन, डिजिटल पार्टनर चेइरे डिजिटल, ट्राभल पार्टनर आर्या ट्राभल, फिटनेस पार्टनर फिट एण्ड स्पेक्ट्रम तथा खाजा पार्टनर हार्दिक होटल एण्ड रेस्टुरेन्टले प्रतियोगितालाई सहयोग गरेका छन्।

पत्रकार सम्मेलनमा यी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले प्रतियोगिताको विश्वसनीयता र प्रभावकारिता झन् मजबुत बनाएको छ।

ट्रफी सार्वजनिक, उत्साह चरममा

कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रतियोगिताको आधिकारिक ट्रफी सार्वजनिक गरिएको थियो। आयोजकका अनुसार ट्रफीले खेल भावना, एकता, अनुशासन र उत्कृष्टताको प्रतीक प्रतिनिधित्व गर्छ।

पत्रकार सम्मेलन सम्पन्न भएसँगै अब खेलप्रेमीहरूको ध्यान फागुन १२ र १३ गते वन डे क्रिकेट एकेडेमीमा हुने प्रतिस्पर्धात्मक खेलहरूतर्फ केन्द्रित भएको छ। दुई दिनसम्म हुने यो क्रिकेट महोत्सवले काठमाडौंका कलेजका युवा खेलाडीहरूको उत्साह र प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत