समाज

राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

बडादशैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दशैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जातजातिका आ–आफ्नै परम्परा र संस्कृति रहे पनि दशैँले सबै नेपालीबीच आपसी एकता र सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्‍याएको उनको भनाइ छ। भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच सामाजिक एकता सुदृढ गर्नुका साथै नेपालीको सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्न पनि यस पर्वले महत्त्वपूर्ण भूमिका खेलेको उनले बताएका छन्।

राष्ट्रपति पौडेलले विजयादशमीका दिन दुर्गा भवानीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै दशैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने पर्वका रूपमा उल्लेख गरेका छन्।

दशैँका अवसरमा परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, पुनर्मिलन र खुसी साटासाट हुने उल्लेख गर्दै उनले यस पर्वको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय महत्त्व रहेको बताएका छन्।

यसैबीच, राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना र जनजीवन सामान्य बनाउन सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले विपद् प्रभावितहरूको सहयोग तथा पुनःस्थापनामा जुट्न सबैलाई अपिल गरेका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत