गाउँ सहर

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त

काठमाडाैं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको  शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गरेकी छन् । 

यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेकी छन् । महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध मिलाउन राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकर्षण गरेकी छन् । श्रमको सम्मान सुरक्षित कार्यथलो‚ सामाजिक सुरक्षा‚ आफ्नो जीवनलाई प्रभावित पार्ने नीति निर्णयमा सहभागिताका साथै लैंगिकलगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै सबैका लागि फलदायी रोजगारीको सिर्जना गर्न नेपाल सरकार कटिबद्ध रहँदै आएको उनले बताइन् । 

साथै उनले कोभिड-१९ को दोस्रो लहरका कारण देशमा पुन सङ्क्रमण बढ्दै गएको हुँदा सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्न र निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न सबैलाई  आह्वान गरेकी छन् ।

त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवद्र्धन गरिरहेको बताएका छन् ।

उनले भनेका छन्, “औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ । यसरी हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ ।”

सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरेको उनले बताएका छन् । श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको पनि उनले स्पष्ट पारेका छन् ।

एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको बताउँदै उनले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताए । स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उनले सन्देशमा उल्लेख गरेका छन् । नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उनले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गरेका छन् ।

विश्वरभरिका श्रमिकको ऐक्यबद्धता एवम् श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस  मनाइन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत