गाउँ सहर

नेपाल र जर्मनीबीच श्रम समझदारी, नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने

काठमाडाैं । नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । जर्मनीका नागरिकसरह सेवा सुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबीच द्विपक्षीय श्रम समझदारीमा हिजो हस्ताक्षर भएको हो ।

जर्मनीमा भएको औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारी  र  जर्मनी  सरकारको  तर्फबाट  त्यहाँको  मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबीच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । त्यसअघि शुक्रवार युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

श्रम समझदारी अनुसार  जर्मनीमा  रोमानियामा जसरी श्रम स्वीकृति नभइ अनलाइन प्रणालीबाट आवेदन माग गरेर एकवर्षे प्रशिक्षार्थीका रूपमा जर्मनी जान सक्ने छन् । जर्मनीमा जाने  प्रशिक्षार्थी  श्रमिकले आफ्नो रुचि र क्षमता अनुसार सिप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने समझदारीपत्रमा उल्लेख छ । समझदारी अनुसार जर्मनी जानका लागि विशेष क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा आवेदन माग गरेर सबै क्षेत्रमा पठाउनलाई खुला गरिएको छ ।

श्रम  मन्त्रालयका  सहसचिव  राजीव पोखरेलले  जर्मनीको  आन्तरिक  श्रम  कानुनले  श्रमिकलाई दिएको  अधिकार  विश्वमै उदाहरणीय  भएको  र  त्यहाँका  नागरिकसरह  नेपालसहित आप्रवासी  श्रमिकले  सेवा  सुविधा  पाउने व्यवस्था रहेको जानकारी दिए ।

जर्मनी सरकारसँग भएको श्रम समझदारी अनुसार  सरकारीस्तरबाट  आवेदन  माग  गरेर  पठाइने छ । समझदारीसँगै  जर्मनीमा  नेपाली  श्रमिक  जानका  लागि  बाटो  खुले पनि  कार्यान्वयनमा  लैजानका  लागि  केही  तयारी  नेपाल  सरकारको  तर्फबाट गर्नुपर्ने देखिएको सहसचिव पोखरेलको भनाइ छ ।

जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार अहिले जर्मनीमा झण्डै आठ हजार नेपाली बसोबास गर्दै आएका छन् । तीमध्ये धेरैजसो उच्च शिक्षा अध्ययनका  लागि  पुगेर  पछि  त्यहीँ  काम  गर्न  थालेका छन् । पछिल्लो  समय  युरोपेली  देशमा  नेपालीको  आकर्षण  बढ्दै  गएको  छ।  

यसअघि ०९ अक्टोबरमा बर्लिनस्थित नेपाली राजदूतावासमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बर्लिन ब्यूरो निर्देशक डा. एनेट निडरफ्राङ्कसँग भेटवार्ता भएको थियो । 

भेटवार्ताको क्रममा श्रमिकको हकहित, श्रमिकको शोषण तथा ओसारपसार विरुद्धको उपाय, समावेशी वैदेशिक रोजगारी, आप्रवासी कामदारलाई उत्पत्तिको जिल्लामा पुर्न एकीकरण गर्नेलगायतका विभिन्न श्रम सम्बन्धी विषयमा छलफल भएको थियो । 

उक्त घोषणापत्रमा हस्ताक्षर गर्न जर्मनी पुगेका मन्त्री भण्डारीको टोलीले भोली जर्मनीका निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । 

यसअघि नेपालले रोमानियासँग श्रम समझादारी गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत