गाउँ सहर

त्रिवेणी श्रम सहकारीले बेसारको चाना जर्मन पठाउने

  • २६ भदौ मंगलबार, २०८० | १४:१७:०० मा प्रकाशित

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ ।

पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो । “हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मन पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिरदेखि बेसार जर्मन पठाउन सुरु गर्दैछौँ”, सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भने ।

“सहकारीका सदस्यलाई बेसार खेती गर्न भनेका छौँ । दुई सय सदस्यले यो पटक बेसारखेती गरेका छन् । उनीहरुले राम्रो बेसार उत्पादन गर्ने योजना पनि बनाएका छन् । त्यही बेसारको चाना पहिलो चरणमा जर्मन पठाउने छौा”, अध्यक्ष मल्लले भने ।

गाउँपालिकामा उत्पादन भएको बेसारले मात्र माग धान्न नसक्ने उनको भनाइ । जिल्लाको अन्य क्षेत्रमा पनि बेसार उत्पादनका लागि किसानलाई पहिलै भनेको सहकारीले जनाएको छ । सहकारीले अदुवा र बेसार प्रशोधनको लागि उद्योग स्थापना गरेको जनाएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा र बेसार उत्पादन हुनेगर्छ । व्यापारीले जिल्लाबाटै अदुवा र बेसार खरिद गर्ने गर्दै आएकोमा अब भने जिल्लामा उत्पादित अदुवा र बेसार त्रिवेणी गाउँपालिकामा रहेको अदुवा, बेसार प्रशोधन केन्द्रले खरिद गरिदिने छ ।

प्रशोधन केन्द्रमा चाहिने भौतिक संरचना र मेसिनका लागि कर्णाली प्रदेश सरकारले सहकारी संस्थालाई एक करोड ५० लाख दिएको थियो । सहकारीले पनि उद्योग सञ्चालनका लागि ४८ हजार रकम खर्च गरेको सहकारीका अध्यक्ष मल्लले जानकारी दिए ।

जिल्लामा उत्पादन भएको बेसार र अदुवा विदेश पठाइने भएपछि अदुवा र बेसारले पनि राम्रो मूल्य पाउने किसानको विश्वास छ ।

तपाईँको मत