गाउँ सहर

चितवनमै रित्तिए युवा, धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर

  • १७ कार्तिक शुक्रबार, २०८० | १३:४७:०० मा प्रकाशित

भरतपुर । यतिबेला चितवन जिल्लाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको पश्चिम, पूर्वी र माडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । धान स्याहार्न जिल्लामा श्रमिक पाइन छाडेपछि यहाँका किसानलाई धान रोप्नेदेखि काट्नेसम्म मधेस प्रदेश र तराईका श्रमिकको भर पर्नुपरेको छ ।

यहाँ धान रोप्ने र काट्ने याममा मधेस प्रदेश र भारतका श्रमिक आउने गरेका छन् । उनीहरू सामूहिक रुपमा आएर यहाँ धान काट्ने, झार्ने र घरको भकारीसम्म पुर्‍याइदिने काम गर्छन् ।

जिल्लामा काम गर्ने युवा विदेश पलायन र स्थानीय कामदार महँगा भएका कारण बाहिरी जिल्लाबाट कामदार ल्याउनुपरेको सम्बद्ध किसान बताउँछन् । पश्चिम चितवनको चनौलीका किसान रामकृष्ण अधिकारी प्रत्येक वर्ष तराईबाट आउने श्रमिकलाई काम लगाउने गरेको उनको भनाइ छ ।

उनी भन्छन्‌, ‘यहाँ भएका कामदारले काम गर्दैनन्, उनीहरूलाई ठेक्कामा दिएपछि हाइसञ्चो हुन्छ ।’ अधिकारी यस वर्ष पनि आफूले धान रोप्नेदेखि काट्नेसम्म सबै जिम्मा तराईका श्रमिकलाई दिएको बताउँछन्‌ । ‘गाउँमा अधिकांश ४०/५० कटेका मान्छेमात्र छन’, उनी भन्छन्‌, ‘काम गर्ने युवा कोही अष्ट्रेलिया, अमेरिका त कोही खाडी मुलुकमा गए, गाउँमा काम गर्ने मान्छे भएन ।’

रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो याममा धान काट्न चितवन आउँछन्‌ । उनी यसरी नियमित आउन थालेको दस वर्ष भयो । धान काट्नमात्र होइन, धान रोप्न र गोड्नसमेत पटेल चितवन आउने गरेका हुन्‌ । ‘यो वर्ष मात्रै तीनपटक चितवन आएँ’, उनी भन्छन्‌, ‘काम सहजै पाइन्छ पैसा पनि राम्रै छ ।’ रौतहटमा रहँदा उखु छिन्ने र आफ्नो घरायसी काम गर्दै आएको उनी बताउँछन्‌ । यसपटक आठजनाको टोली लिएर आएको भन्दै पटेल ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गरेको जानकारी दिन्छन्‌ ।

रौतहटका दिनेश पटेलले पनि भाडामा जग्गा लिएर भरतपुर महानगरपालिका–६ स्थित गीतानगरमा पाँच बिघा क्षेत्रफलमा धान खेती गरेका छन्‌ । धान भित्र्याउन यहाँका कामदार खोज्दा नपाएपछि रौतहत र बारा जिल्लाबाट कामदार ल्याएर उनले धान भित्र्याउनुभएको हो ।  ‘चितवनमा कामदार नै नपाउने । पाइए पनि दिनको एक हजार रुपैयाँ लिन्छन्’, दिनेश भन्छन्‌, ‘महङ्गा कामदार हालेर खेती गर्नुभन्दा मधेसबाट नै कामदार ल्याएर काम गराइराखेका छौँ ।’ चितवनका कामदार लगाएर खेती गर्दा लागत पनि नउठ्ने उनी बताउँछन्‌ । चितवनमा मधेसबाट काम खोज्न आउने कामदारको सङ्ख्या बढी छ ।

रौतहटका हरिस यादव प्रत्येक वर्ष यो याममा धान काट्न चितवन आएका छन्‌  । उनी नियमित आउन थालेको चार वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्नसमेत उनी चितवन आउने आउने गरेका छन्‌ । ‘घरमा आमाबुबा छोराछोरी र श्रीमती छन् । आफ्नो पनि पेट पाल्न पर्‍यो,’ उनी भन्छन्‌, ‘छठ पर्वको खर्च जुटाउनका लागि प्रत्येक वर्ष चितवन आउँछौँ ।’  बारा, पर्सा रौतहटबाट कादार छठ पर्वका लागि पैसा जोहो गर्न चितवनमा काम गर्न आउने गर्दछन् ।  हेटौँडा, नवलपरासी, काठमाडौँसम्म ज्याला मजदुरीको काम गर्न जाने गरेको यादव बताउँछन्‌ । धान रोप्ने, काट्ने बेला अन्यन्त्रभन्दा चितवनमा सहज रुपमा काम पाइने गरेको उनको अनुभव छ ।

बाराबाट १५ जनाको टोलीसहित आएका झापट चौधरीले चितवनमा धान काट्न थालेको एक दशक बढी भयो । परिवार पाल्नका लागि खेतमा आली लगाउनेदेखि काट्नसम्म आउने गरेको उनको भनाइ छ । ‘यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ,’ मङ्गलपुरमा धान काट्दै गरेका चौधरी भन्छन्‌, ‘चितवन जिल्लाका मङ्गलपुर, गीतानगर, पदमपुर, रत्ननगर, खैरहनी, राप्ती सबै क्षेत्रमा धान काट्ने गर्दछौँ ।’ 

यस्तै रौतहटका कृष्ण पाण्डे पनि आठ वर्षदेखि नियमितरुपमा चितवनमा धान काट्न आइरहनुभएको छ । उनी भन्छन्‌, ‘यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ ।’ धेरै काम हुँदा कहिलेकाहीँ रातभर काम गरेरसमेत सक्ने गरेको अनुभव उनी सुनाउँछन्‌ । पाण्डेले एक महिनाको अवधिमा खाने बस्ने खर्चबाहेक रु २५ देखि ३० हजार जम्मा गरेर घर लैजाने गरेको बताउँछन्‌ । 

चितवनको अधिकांश जनशक्ति विदेश छ । एक दशक अघिसम्म अर्मपर्व चल्दथ्यो । अहिले हराउँदै गएकाकारण बाहिरी जिल्लाबाट कामदार ल्याएर काम गराउनु परेको भरतपुर–१५ शरणपुरका शिव उप्रेती बताउँछन्‌ । ‘यहाँ भएकाले काम गर्दैनन् । धान लगाएर फाइदा पनि छैन,’ उनी भन्छन्‌, ‘बाँझो किन राख्ने भनेर खेती गरेका हौँ ।’ गाउँमा अधिकांश ४० कटेका मानिसहरू मात्र रहेको उप्रेतीको भनाइ छ । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकृत सुरुचि त्रिपाठी जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म तराई मूलका श्रमिकमा भर पर्नुपर्ने अवस्था रहेको बताउँछन्‌ । ‘युवाहरू रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दो छ । स्थानीय स्तरमा श्रमिक पाइँदैन,’ उनी भन्छन्‌, ‘सबै कुरामा हामी परनिर्भर हुँदै गएका छौँ ।’ धान लगाएर किसानलाई फाइदासमेत नभएको सूचना अधिकृत उप्रेती बताउँछन्‌।  चितवनमा बिस्तारै कृषिमा यान्त्रिकीकरणतर्फ लैजाने प्रयास गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत केही किसानलाई धान रोप्ने, गोड्ने, काट्ने र थ्रेसर लगाउने मेसिन उपलब्ध गराइए पनि पर्याप्त नभएको उनको भनाइ छ । चितवनमा गत आर्थिक वर्ष २२ हजार आठ सय ७० हेक्टरमा धान खेती गरिएको थियो । अहिले समयमा पानी नपरेका कारण दस प्रतिशत जमिनमा मकै, कोदो, तरकारीलगायत बाली लगाइएको सूचना अधिकृत उप्रेती बताउँछन्‌ ।RSS

तपाईँको मत