विश्व

भारतमा काेराेना राप : शव अन्त्येष्टिका लागि टोकन बाेकेर कुर्नुपर्ने, अस्पतालमा शय्या खाेज्दा खोज्दै मृत्यु भइरहेछ

  • एजेन्सी
  • ८ बैशाख बुधबार, २०७८ | १३:०२:०० मा प्रकाशित
निगमबोध घाटमा आफन्तको अन्त्यष्टि हेर्दै एक नातेदार-गेट्टी इमेज

काठमाडाैं । पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना (काेभिड-१९) संक्रमित भारतमा भएका छन् । भारतमा २ लाख ९४ हजार २९० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५६ लाख ९ हजार ४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमित मध्ये १ लाख ८२ हजार ५७० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३२ लाख ६९ हजार ८६३ जना निको भएका छन् । सक्रिय केस २१ लाख ५६ हजार ५७१ जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

अहिले कोरोनाभाइरसको महामारी व्यापक रूपमा बढिरहँदा भारतका मसानघाट र समाधिस्थलमा ठूलो चाप परिरहेको छ । सङ्क्रमणको सुनामीले भारतलाई हल्लाइदिएको छ र अस्पतालहरूलाई किनारमा पुर्‍याइदिएको छ । त्यहाँ दैनिक एक हजारभन्दा बढि जनाको कोभिड-१९ का कारणले मृत्यु हुने गरेको छ ।

बीबीसीका अनुसार भारतको निकै प्रभावित राज्य महाराष्ट्रमा बढ्दै गएको मृत्युका कारण दाहसंस्कारका लागि स्मशानघाटहरूले अतिरिक्त समय दिइरहनुपरेको छ । पुनेस्थित सरकारी शवदाहगृहका कर्मचारी वरुण जङ्गम भन्छन्, "अहिले दिउँसोको १ बजेको छ र हामीले २२ वटा शवको अन्त्येष्टि गरिसक्यौँ ।" प्रत्येक दिन आफूहरूले ५० देखि ६० वटा शवको दाहसंस्कार गर्ने गरेको उनको भनाइ छ । "हामीसँग छवटा फ्रिज मात्र छन्, तर धेरै शव ल्याइन्छ । मानिसहरूले आफन्तको शव लिएर बाहिर पर्खिनुपर्छ ।"

समाचारसंस्था रोएटर्सले कैयौँ प्रमुख सहरमा कोभिड-१९ को आधिकारिक मृत्यु तथ्याङ्कभन्दा मसानघाट र समाधिस्थलमा निकै धेरै सङ्ख्यामा शव पुग्ने गरेको उल्लेख गरेको छ ।

पश्चिमी राज्य गुजरातस्थित एउटा शवदाहगृहमा लगातार ग्यास र काठ बालेर शव जलाउनु पर्दा त्यसको धातुको भाग पग्लिन थालेको छ ।

परिवारका सदस्यहरूले पनि आफ्ना प्रियजनको निम्ति शय्या खोज्दै एउटा अस्पतालबाट अर्कोमा दौडिँदादौडिँदै तिनको मृत्यु भएपछि अन्तिम संस्कारका लागि लामो समय पर्खिनुपर्ने अवस्था छ । केही अस्पतालहरूले देशमा शवदाहगृहहरूमा चाप बढेकाले शव दिन ढिलाइ गर्ने गरेको बताइएको छ । मृत्युपछि शव पाउन उनले १२ घण्टाभन्दा बढी समय पर्खिनुपरेको समाचार छन् । 

मानिसहरूलाई टोकन नम्बर दिइन्छ र उनीहरूले शवगृहबाहिर लामो समय पर्खिनुपर्छ । टोकन पाए पनि छ घण्टापछि पालो आफन्तहरूकाे गुनासाे छ । 

भारत एप्रिल महिनाको सुरुबाट घातक दोस्रो लहरको चपेटा परेको छ । राजधानी दिल्लीसहित नराम्ररी प्रभावित मुम्बई, लखनऊ र अहमदाबादजस्ता सहरका अस्पतालहरू कोभिडका बिरामीको उपचार गर्न सङ्घर्ष गर्नु परिरहेको छ । कैयौँ राज्यहरूमा कोभिड वार्ड र आईसीयूमा शय्याको ठूलो अभाव रहेको बताइएको छ ।

व्यापक मागका कारण परीक्षण परिणाममा ढिलाइ हुँदा रोगको पहिचान र उपचार समयमा हुन नसक्ने अवस्था बढिरहेको चिकित्सकहरूले जनाएका छन् ।

विज्ञहरू दोस्रो लहरको चेतावनीलाई भारत सरकारले बेवास्ता गरेको र रोकथाम तथा नियन्त्रणको निम्ति थोरै काम गरेको बताउँछन् । उनीहरूले त्यसको उदाहरणको रूपमा क्रिकेट हेर्न मास्क नलगाएर जम्मा भएको भिड, कोभिड सुरक्षाका आधारभूत नियम पालना नगरेको देखिने ठूला चुनावी र्‍याली र गङ्गा नदीमा स्नान गर्न दशौँ लाख मानिसहरू कुम्भमेलामा सहभागी भएका घटनाहरू औँल्याउँछन् ।बीबीसी

एजेन्सी

तपाईँको मत