गाउँ सहर

रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे, २१ हजार संक्रमित

  • १२ श्रावण शुक्रबार, २०८० | ०९:४१:०० मा प्रकाशित

रामेछाप । रामेछापमा लम्पी स्किन संक्रमणबाट ३८१ पशुचौपाया मरेका छन् । २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन् ।

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा १५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ ।

रामेछाप नगरपालिकामा हालसम्म दुई हजार १९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगंगामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार ६३५ पशुमा लम्पी स्किन संक्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईंले जानकारी दिए ।  

दोरम्बा सैलुंग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन । दोरम्बा सैलुगका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुंङलेलले भने, “दोरम्बा सैलुंगमा तथ्यांक संकलनको तयारी गर्दैछौँ ।” 

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन् । रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगंगा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए । रोगको संक्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ । गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ । किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ । रासस

तपाईँको मत