स्वास्थ्य

स्वास्थ्यचौकीमा एक महिनादेखि  कर्मचारी नहुँदा बिरामी समस्यामा

काठमाडौँ । स्वास्थ्यचौकीमा एक महिनादेखि कर्मचारी नहुँदा बिरामी समस्यामा परेका छन् ।  हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर २  रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको हो । सात  कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको छ । 

एक इञ्चार्ज, अनमी र कार्यालय सहयोगी भए पनि सबै आफ्नो निजी काममा जिल्ला बाहिर गएकाले पन्छिन खोजेको स्थानीयवासी भीषण कार्कीले बताए । एक महिनादेखि बन्द स्वास्थ्यचौकीमा कार्यालय सहयोगी समेत नहुँदा बन्दको बन्दै छ । 

गाउँमा सामान्य बिरामी हुँदा सिटामोल दिने स्वास्थ्यकर्मीसमेत नभेटिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । सेवा लिन स्वास्थ्यचौकी पुगेका बिरामीले तीन महिनादेखि रित्तो हात लिएर घर फिर्ता हुनुपरेको बताइएको छ । रिपबासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे तीन घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका छन् भने कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको स्थानीयवासीको गुनासो रहेको छ । 

 स्थानीयवासी मात्र नभएर वडा नम्बर ३ का सेवाग्राहीले समेत उक्त स्वास्थ्यचौकीबाट सेवा लिने  हुँदा गाउँपालिकाका दुई वटा वडाका नागरिकलाई थप समस्या भएको स्थानीयको गुनासो छ ।  

गाउँ सहर डेस्क

तपाईँको मत