भिडिओ

'मुकुण्डो' फिल्म पूरै हेर्नुहोस्

काठमाडौँ । दुई दशक पछिको समयमा नेपालमा बलिउडको हुबहु नक्कल गरी कमै मात्रामा फिल्म बन्न थालेका छन् । त्यसयता भने सिनेमाको कथा, पात्र, परिवेशमा नेपाली समाजको सक्कली अनुहार देखाउने धेरथोर प्रयास भइरहेको छ ।

छिरिङ रितार शेर्पाको निर्देशनमा बनेको 'मुकुण्डो' यस्तो प्रयास सुरू गर्ने सिनेमा मध्ये एक हो ।

यथार्थ घटनामा आधारित मुकुण्डोले समाजबाट कथा मात्र टिपेन, त्यो कथा प्रस्तुत गर्ने कलामा पनि मानक खडा गर्‍यो । मुकुण्डो तीन मुख्य पात्र वरिपरि घुम्छ जसमा मिथिला शर्मा, गौरी मल्ल र रतन सुवेदीको अभिनय छ । गौरी फिल्ममा सरस्वती र रतन उनका श्रीमान बनेका छन्। दीपक सेक्युरिटी गार्ड हुन्, जो कुनै बेला फुटबल खेलाडी थिए ।

दुई छोरीकी आमा सरस्वती गृहिणी हुन्, जो गर्भवती छिन्। छोरा जन्माउनु पर्ने दबावका कारण उनी तनावमा छन्। भगवानप्रति आस्था राख्ने उनी नियमित पूजापाठ गर्छिन्। संयोगवश उनीहरूको छोरा नै जन्मिन्छ तर सरस्वती र दीपकले उसलाई गुमाउँछन् ।

छोराको मृत्युपछि सरस्वतीको मानसिक अवस्था बिग्रन्छ । उनी त्रिपूरा माताकी भक्त गीताकहाँ उपचार गराउन पुग्छिन् । फिल्ममा त्रिपूरा माताकी भक्तको भूमिका मिथिला शर्माले निर्वाह गरेकी छन् । सरस्वती र गीताको भेटपछि कथाले खास गति लिन्छ ।

त्रिपूरा माताको शक्ति चढेर धेरै बिरामी सन्चो पारेकी गीता र सरस्वतीबीच सुरूमा त मित्रता गाँसिन्छ । तर गीता सरस्वतीको उपचार भन्दा बढी उनका श्रीमान दीपकप्रति आकर्षित हुन्छिन् । माताको आवरणभित्र गीताको मनमा दबिएका यौन आकांक्षा शनैशनै जाग्न थाल्छ । यसले माता र बिरामी गृहिणीको जीवनमा हलचल ल्याइदिन्छ । 

माताको भूमिकामा मिथिला शर्माको अभिनय बेजोड छ। खासगरी देवता चढेको दृश्यमा उनलाई अति नै सुहाएको छ । 'मुकुण्डो' मा ललितपुरका साँघुरा गल्ली, मन्दिर, जनजीवन र जात्रासम्मका कुरा पृष्ठभूमिमा आएका छन् ।

करिब तीन वर्षअघि अनामनगरको युनियन हाउसमा नेपाल चलचित्र समीक्षक समाजको आयोजनामा यसका निर्देशकको उपस्थितिमा मुकुण्डो प्रदर्शन भएको थियो ।

केसाङ छेतेन र छिर‍िङ रितारको लेखनमा बनेको मुकुण्डो संसारका प्रतिष्ठित महोत्सवहरूमा प्रदर्शन भएको फिल्म हो । सान फ्रान्सिस्को, भानकोभर, फुकुओका, मुम्बई लगायत इन्टरनेसनल फिल्म फेस्टिभलहरूमा प्रदर्शन भएको छ। मुकुण्डो ओस्कार अवार्डमा पठाइएको पहिलो नेपाली फिल्म मानिन्छ । 

सन् २००० मा बनेको मुकुण्डो गत साता मिला प्रोडक्सनको आधिकारिक युट्युब च्यानलबाट अपलोड गरिएको हो।

गाउँ सहर डेस्क

तपाईँको मत