गाउँ सहर

हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश, म अदालतलाई मान्नेवाला छैन: बालेन

  • ७ असार बिहीबार, २०८० | १५:०३:०० मा प्रकाशित

काठमाडाैं । हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हाे । 

यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् ।  ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् । 
फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत प्रष्ट हुने शाहको भनाइ छ । 

‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् ।  यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ।

हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो। 

काठमाडौं महानगरका मेयर बालेन शाहले 'आदिपुरूष' मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए। तर यो संवाद नै फिल्ममा नभएको जानकारी निर्माता र चलचित्र सेन्सर बोर्ड, नेपालले समेत जानकारी दिइसकेको छ।

तपाईँको मत