कला

यसकारण विवाद सुरु भयो फिल्म ‘तिम्रो मेरो साथ’ को सुटिङमा

काठमाडौँ । फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन युनिटमा विवाद भएको छ । फिल्मका निर्माता रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछाने बीच गीतको छायाँकन खर्चलाई लिएर विवाद सुरु भएको हो ।

५ लाखमा सक्ने जिम्मा लिएको फिल्मको आइट गीत नृत्य निर्देशक रामजीले २५ लाखभन्दा बढी खर्च गराएको कारण निर्माता र नृत्य निर्देशक बीच विवाद चलेको निर्माण युनिटले जानकारी दिएको छ । 

फिल्मको नाम ‘तिम्रो मेरो साथ’ भएपनि आफूले नृत्य निर्देशकबाट राम्रो साथ नपाएको निर्माता पौडेलले गुनासो गरेका छन् । ‘अहिलेको समयमा जोखिम उठाएर फिल्ममा लगानी गरियो’ निर्माता पौडेलले भने, ‘सहकर्मीहरुका कारण जोखिम माथि जोखिम बढ्यो ।’

गीतको सुटिङमा अनुमानित भन्दा केही बढी रकम लागेको नृत्य निर्देशक रामजी लामिछानेले स्वीकारेका छन् । ‘फिल्मको गीतमा भएको खर्चलाई लिएर निर्मातासँग केही असमझदारी भएको हो,’ लामिछानेले भने ‘तर पनि मैले फिल्म छोडेको छैन । काम गर्दैछु ।’ गीत राम्रो बनाउ भनेर काम गर्दा बजेट बढेको लामिछाने बताउँछन् ।

फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन स्थलबाट फिल्मको एक तस्बिर समेत बाहिरिएको छ । बाहिरिएको तस्बिर फिल्मको सोही आइटम गीतको हो । जसको छायाँकन बिषयलाई लिएर निर्माता र निर्देशकबीच लफडा भएको थियो । आइट गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दिप क्षेत्रीको नृत्य रहेको छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको छ । फिल्म आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको छ । सविर श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा  सरोज खनाल, खबपु, इमिली लामा, धु्रव दत्तको पनि मुख्य भूमिका रहने निर्माण युनिटले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत