गाउँ सहर

यो ट्रेलर मात्रै हो, सिंगै फिल्म देखिनेवाला छ, ओलीले चासो राखे : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खोल्दै जाने बताएका हुन् ।

उनले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने उल्लेख गरे । अहिलेको सरकारको कदम ‘ट्रेलर’ मात्र रहेको भन्दै उनले पूरा फिल्म देख्न बाँकी रहेको बताए ।

उनले अब आफूहरूलाई ठूलो घेराबन्दी र दबाब आउन सक्ने जिकिर पनि गरे ।

“मैले घोषणा गरेको थिएँ– अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुआत मात्रै हो । यो ट्रेलर मात्रै हो । हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ । सिंगै फिल्म देखिनेवाला छ,” उनले भने, “त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आऊलान्, धम्कीहरू होलान् । धेरै चिजहरू हुनसक्छ, योबीचमा । तर, हाम्रो उत्पीडित वर्ग, समुदाय, हाम्रो श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी, दबाब र धम्कीको सामना गरिनेछ ।”

 प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् ।

पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताए ।

‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने, ‘खाली एकतावद्ध भएर गर्जिने आवश्यकता मात्र हो ।’

प्रचण्ड–ओली भेटमा के भयो ?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा चासो राखेको प्रधानमन्त्री प्रचण्डले बताए । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा चासो राखेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोहीले पनि उन्मुक्ति नपाउने भन्दै उनले प्रक्रिया, पद्धति र ऐनअनुसार कारबाही अघि बढ्ने स्पष्ट पारे ।

यसअघिको भेटमा पनि ओलीले चासो राखेको र शनिबारको भेटमा पनि त्यही विषयमा कुराकानी भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू कुनै दबाबमा नपर्ने बताए ।

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई एमालेले बचाउन लागेको भन्दै केही एमालेविरोधी व्यक्तिहरूले हल्ला चलाएको अध्यक्ष ओलीले जिकिर गरे ।

प्रचण्ड र ओलीबीच यसअघि गएको बिहीबार पनि भेटवार्ता भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको तीन दिन हुँदा पनि एमालेका सचिव टोपबहादुर रायमाझी प्रक्राउ परेका छैनन् । रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिररहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत