राजनीति

राम्रा कामलाई प्रोत्साहन गर्छु  : वनमन्त्री आले

काठमाडौँ। नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताएका छन् ।

मन्त्रालयमा आज पद बहालीका क्रममा उनले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिए ।

मन्त्री आलेले आफू प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा रहँदा वन क्षेत्रका केही विकृति र गुनासा देखेको औँल्याउँदै त्यसलाई हटाई उत्कृष्ट मन्त्रालयका रुपमा चिनाउन हरदम लागिपर्ने बताएका छन् ।

मन्त्रालयका काम कारवाहीमा कार्यालय सहयोगीदेखि सचिवसम्म सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले एक परिवारसरह काम गर्न निर्देशन दिए।

वातावरण र संरक्षणका कार्य चुनौती रहेकाले यसमा सबैले मिलेर जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउँदै उनले विकास र वातावरणबीच सन्तुलन गरी विकास निर्माणका कार्यलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री आलेले सरकारले मध्यावधि निर्वाचन घोषणा गरिसकेका कारण आफ्नो कार्यकाल छोटो रहेकाले दु्रत गतिमा काम गर्नुपर्ने बताउँदै यसमा सबै कर्मचारीको सहयोगको अपेक्षासमेत गरेका छन् ।

कार्यक्रममा सचिव डा. विश्वनाथ ओली, मन्त्रालयअन्तर्गत निकायका प्रमुख, विभागीय प्रमुखलगायतको सहभागिता थियो । मन्त्री आलेले आज आर्थिक अनुशासन मितव्ययिता सम्बन्धी र वेरुजु फछ्र्यौटको कार्ययोजना बनाई कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको बताएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत