गाउँ सहर

मुस्ताङवासीका समस्या बुझ्दै मुख्यमन्त्री पोखरेल, प्रहरी-कर्मचारीले भने- प्रोत्साहन भत्ता कम भयाे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयनका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । मुस्ताङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरुसँगको अन्तक्रियाका क्रममा उनले उक्त कुरा बताएका हुन् ।

सीमित स्रोत, साधन र जनशक्ति भए पनि बाटोघाटो, पुलपुलेसा निर्माण, उज्यालो प्रदेश कार्यक्रमदेखि एक घर एक धाराजस्ता नमूना कार्यक्रमहरु सञ्चालन गरी अधिकांशलाई सफल बताएको उनले दाबी गरे । मुख्यमन्त्री पोखरेलले भने, झट्ट हेर्दा प्रदेशले के काम ग-यो भन्नेजस्तो लाग्ला, संघीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थाल्नु कम चुनौतीपूर्ण थिएन, तै पनि हामीले सक्दो काम गरेका छौं ।

राजनीतिक घटनाक्रमले आफू मुख्यमन्त्रीको पदमा आएको भन्दै उनले गतवर्ष ल्याएको बजेटमा धेरै क्रमागत योजना काट्नुपर्ने वाध्यकारी अवस्था आफूसँग रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले कर्मचारीलाई सक्षम बनाउनकै प्रदेश प्रशिक्षण प्रतिष्ठानले काम गर्दै आएको समेत बताए ।

कोरोला त्रिवेणी सडक प्रदेशकै लाइफलाइन रहे पनि ठेकेदारको लापरवाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काम अलपत्र परेकामा प्रदेश सरकारको ध्यानाकर्षण भएको मुख्यमन्त्री पोखरेलले बताए ।

कार्यक्रममा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमता अनुसार प्रहरीलाई स्रोत साधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको भनाइ राखे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले गण्डकीका ५ जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) र पालिकाबीच नीतिगत विषयहरु बाझिएको भन्दै यो अवस्थाको अन्त्य हुनुपर्ने भनाइ राखे ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्यले जुन तहमा रहेर काम गरे पनि समन्वयात्मक रुपमा कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देश गरे ।

उक्त अवसरमा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ढकालले जिल्लाको बस्तुस्थितिका बारेमा प्रस्तुति राखेका थिए । उनले भौगोलिक विकट भए पनि धार्मिक र पर्यटकीय महत्वको जिल्ला मुस्ताङमा शान्ति सुरक्षाको अवस्था सामान्य नै रहेको बताए ।

कालीगण्डकीको कटान, बाढीपहिरो, आगलागी र बेनी जोमसोम खण्डको काम पूरा नहुनुजस्ता समस्याले मुस्ताङवासी आक्रान्त भएको भनाइ उनले राखे ।

कार्यक्रममा प्रहरी प्रमुख डिएसपी रवीन्द्र पौडेलले सवारी साधनको कमी र हिमाली भेगमा प्रहरी कर्मचारीलाई प्रोत्साहन भत्ता कम भएको गुनासो गरे ।

उक्त अवसरमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय समिति उपसंयोजक आइतलाल थकालीले स्थानीय तहले भोग्नुपरेका समस्याका बारेमा सुनाए ।

कोष तथा लेखा नियन्त्रक डालेश्वर अर्याल, पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिग्देल, कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटी, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्य, नागरिक समाज संयोजक चन्द्रबहादुर थकाली लगायतले भनाइ राखेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत