अर्थतन्त्र

बीमा समितिले गर्‍यो कृषि तथा पशुपंक्षी बीमा निर्देशिका २०७७ जारी

 काठमाडौं–बीमा समितिले नयाँ कृषि तथा पशुपंक्षी बीमा निर्देशिका २०७७ जारी गरेको छ । समितिले पुरानो बाली तथा पशुपंक्षी बीमा निर्देशन २०६९ लाई समयसापेक्ष परिमार्जन गरी नयाँ ‘कृषि तथा पशुपंक्षी बीमा निर्देशिका २०७७’ जारी गरेको हो । निर्जीवन बीमा व्यवसाय गर्ने बिमा कम्पनीहरुले बाली तथा पशुपंक्षीको बीमा गर्दा नयाँ निर्देशिका अनुसार काम गर्नुपर्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।

 बीमा कम्पनीले वार्षिक रुपमा बिक्री गर्ने कूल बीमालेखमध्ये कम्तिमा ५ प्रतिशत कृषि तथा पशुपंक्षीको  हुनु पर्ने निर्देशिका उल्लेख गरेको छ। बीमालेखको अन्तिम अवधि उक्त बीमालेख सकिएको दिनको मध्यरात १२ बजेसम्म कायम रहने निर्देशिकामा उल्लेख गरिएको छ। 

बीमितले आफ्नो सम्पत्तीको क्षतिको प्रमाण नष्ट नभई बीमा कम्पनीलाई टेलिफोन, फ्याक्स, एसएमएस, लिखित पत्र मार्फत् जानकारी गराउनु पर्नेछ। कृषि तथा पशुपंक्षी बीमा क्षति मूल्यांकनकर्ताले बीमा गरिएको वस्तुको क्षति स्पष्ट देखिने गरी विभिन्न कोणबाट आफैंले खिचेको कम्तिमा  पाँच वटा फोटो र कम्तिमा तीन मिनेटको भिडियो क्लिप क्षति मूल्यांकन प्रतिवेदनसँगै संलग्न गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । क्षति मूल्यांकनकर्ताले प्रतिवेदन पेश गरेको ३५ दिन बीमकले दायित्व एकिन ठहर गरी बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । साथै बीमितले दाबी बापत रकम नपाउने खण्डमा कारणसहित लिखित जानकारी दिनुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ। 

सरकारले महाविपत्ति घोषणा गरेको अवधिका लागि यो समय अनिवार्य नहुने समितिले जनाएको छ। काबु बाहिरको परिस्थितिमा बीमा समितिलाई जानकारी गराएर समय तलमाथि हुन सक्ने निर्देशिकामा व्यवस्था छ। 

नेपाल सरकारले बजेट मार्फत् नै कृषि तथा पशुपंक्षी बीमा गर्ने कृषकलाई  प्रोत्साहन गर्न प्रिमियमको ७५ प्रतिशत रकम अनुदानको रुपमा उपलब्ध गराउँदै आएको छ। यो सँगै बीमा समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई सम्पूर्ण स्थानीय निकायमा पुग्न निर्देशन दिएको छ । 

बीमा समितिले कम्पनीलाई हिमाल, पहाड तथा तराइका जिल्लाहरु निर्देशिका मार्फत् तोकिदिएको छ। तोकिदिएका जिल्लामा बीमा कम्पनीहरुले अनिवार्य बीमा कार्यक्रम लागु गर्नुपर्नेछ। दुर्गम क्षेत्रमा बीमा कम्पनीहरु नपुग्ने भएपछि समितिले भाग लगाएरै कम्पनीहरुलाई जिल्लामा पुग्न निर्देशन दिएको हो ।यसले सबै क्षेत्रमा बीमा कम्पनीहरु पुग्ने समितिको विश्वास छ । 

गाउँ सहर डेस्क

तपाईँको मत