दिगोविकास

 किसानलाई धान व्यापारको चटारो

नेपालगञ्ज । बाँकेका किसानलाई आजभोलि धान व्यापार गर्ने चटारो छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न सुरु गरेपछि अहिले कम्पनीको कार्यालयमा धान बिक्री गर्ने किसानको घुइँचो छ ।

कम्पनीले सरकारले तोकेको मूल्यमा धान खरिद गर्ने भएपछि  जिल्लाभरिका किसानहरु धान बिक्री गर्नका लागि  त्यहाँ पुगेका छन् । कम्पनीले ४० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेपछि किसानलाई धान बिक्री गर्न भ्याईनभ्याई भएको हो  ।

कोरोनाका कारण व्यवस्थित तरिकाले धान खरिदका लागि  किसानलाई टोकन वितरण गरेर धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख निर्मल थापाले बताए । कम्पनीले धान खरिद सुरु गरेसँगै धान बिक्रीका लागी कार्यालयमा आउनेहरुको घुईंचो लागेको छ । एक जना किसानलाई एक पटकमा ५० क्विन्टलको मात्र टोकन दिइएको कम्पनीले जनाएको छ ।

मङ्सिर ७ गतेदेखि धान खरिद शुरु गरिएकोमा चार दिनको अवधिमा निर्धारित कोटा  वितरण भइसकेको नेपालगञ्ज कार्यालयका प्रमुख थापा बताउँछन् । यस वर्ष धान उत्पादन राम्रो भएकोले  धेरै किसानहरु धान बिक्रीका लागि आएको हुँदा कोटा थप गर्नका लागि केन्द्रलाई आग्रह गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ ।

कम्पनीले सरकारले तोकेको मूल्य मोटा धान दुई हजार ७३५ र मध्यम धान दुई हजार ८८५ रुपियाँ क्विन्टलमा खरिद गरिरहेको छ । धान खरिद गर्नका लागि कम्पनीले आईतबारदेखि शुक्रबारसम्म  बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकेको  छ ।

गाउँ सहर डेस्क

Sobin Yadav लेख्नुहुन्छ १४ मङ्सिर, २०७७ ०८:२४ am

Dhan bhanda pani khad ko hahakar

तपाईँको मत