निर्माण

पुल नबनेपछि जनप्रतिनिधिको आक्रोश : ‘मुखले भन्दा-भन्दा थाकिसक्याैँ, अब पिट्न मात्र बाँकी छ’

कञ्चनपुर । तीन बर्षमा सम्पन्न हुनुपर्ने धनगढी राजघाट जोडने मोहना नदीको पुल ५ वर्ष पुग्न लाग्दासमेत निर्माण हुन सकेको छैन । ०७१ सालमा शिलान्यास हुँदा तीन वर्षभित्र पुल निर्माण गर्ने अवधी तोकिए पनि निर्माण व्यवसायी चन्द्रशेखर मल्लले २ वर्षमै पुल निर्माणको गरेर हस्तान्तरण गर्ने बाचा गरेका  थिए ।

ताेकिएकाे समयावधि भन्दा अगावै पुल बन्ने खुशीले स्थानीयले खुसी हुँदै ताली बजाएर उनकाे बाचाप्रति हाैसिएका थिए । तर त्यो खुशी अहिले निराशामा बदलिएको पनि तीन वर्ष भइसक्याे ।
 
यो पुल कन्चनपुरको कृष्णपुर नगरपालिका जनताको जीवन दिनचर्यासँग जोडिएका छ । त्यहाँका जनताहरुलाई मोहना नदिमा पुल नहुँदा निकै दु:ख भोग्नु परिरहेको छ । वर्षामा डुङ्गामा नदी तर्नुपर्ने बाध्यता छ भने हिउँद लागेपछि काठको पुलबाट वारपार गर्नुपर्छ । वर्षेनी नदीमा वारपार गर्ने क्रममा सर्वसाधारणहरुको डुबेर मृत्यु हुने गर्दछ । वर्षा त झन् नदी घटने आशमै बिरामीले मृत्यु पर्खनुपर्ने अवस्था छ । पुल नहुँदा धनगढी पढ्न जाने विधार्थीहरुको पढाईसमेत अरुद्ध हुँदै आएको छ ।

तीन वर्षभित्रै पुल निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा निर्माणको जिम्मा लिएको केएस एडभेन्सर जेभीले ५ वर्ष पुग्न लाग्दा पिल्लर र वीम निर्माणको काम बाहेक अरू काम गरेकाे छैन । तीन वर्ष पुरा भएपछि २ पटक एक-एक वर्ष गरेर समय थप गरिसकेकाे छ । पुल निर्माणका लागि सरकारबाट पर्याप्त बजेट नछुट्याएकोले र वर्षायाममा नदीमा पानीको मात्रा बढ्ने कारणले पुल निर्माणमा ढिलाई भएको निर्माण व्यवासायी (ठेकेदार) चन्द्रशेखर मल्लकाे तर्क छ । यही जेठभित्रै पुल निर्माणको कार्य सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी थियो तर पुल सम्पन्न हुने कुनै संकेत देखिँदैन ।

यसरी पटक-पटक आश्वासन दिएर पुल निर्माण गर्न भनेर म्याद थप गर्दा समेत काम पुरा नगरेको भन्दै स्थानीय जनप्रतिनिधि सर्वसाधारणहरुले आक्राेशित छन् । राजघाट बासी बालकृष्ण जोशीले भने “म गाउँलेहरुको दुध किनेर साइकलमा धनगढीसम्म बेच्न जान्छु तर यो नदीमा पुल नहुँदा मैले धेरै समस्या पाएको छु । वर्षामा नदी उर्लेर आउँछ । पानी धेरै बढेको दिन दुध नै फिर्ता लग्नुपर्छ । थोरै पैसा फाइदा होला कि भनेर दुध बेच्न आयो तर पैसा जति सधैं पुल र डुङ्गाको भाडा तिर्न नै ठिक्क हुन्छ । पहिला नै बन्नुपर्ने हो पुल त तर अब यो पुल बन्ला भनेर आशा नै मरिसक्यो”।

त्यसै गरी राजघाटबाट धनगढी पढ्न जाने बिधार्थी कल्पना जोशीकाे उस्तै गुनासाे छ । उनी भन्छिन “नदीमा पुल नबन्दा साह्रै दु:ख खेप्नुपरेको छ आवतजावतमा समेत धेरै समस्या हुन्छ झन वर्षामा त नदीमा पानी बढ्दा डुङगा नै चल्दैन कलेज नगएर घर फर्किनुपर्छ । कत्तिको त बाढी आएर फाइनल परिक्षा समेत छुट्छ । म पनि फाइनल परिक्षाको बेला परिक्षा छुट्छ भनेर धनगढीतिर नै बस्छु । अहँ ! मलाई त अब यो पुल छिटो बन्ला जस्ताे लाग्दैन ।”

कृष्णपुर नगरपालिका प्रमुख कर्ण बहादुर हमाल पनि पुल नबनेकाेमा गुनासाे गर्छन् । ठेकेदारकाे लापरबाहीले सर्वसाधारणले दु:ख खेप्न परिरहेकाे उनी बताउँछन् । 

नगरपालिका प्रमुख हमाल भन्छन् “यो पुरानै प्रक्रियामा गएको कुरा हो हामी नआउँदै यो पुलको काम शुरु भएको हो तर पनि यो पुल निर्माण हुन नसक्नुमा ठेकेदारको नै चरम लापरवाही छ । ठेकेदारले आफ्नो ठेक्का योजना समयावधिमा सम्पन्न नगर्ने, ढिलासुस्ती गर्ने, दक्ष जनशत्ति कम लगाईदिने र विभिन्न खालको समस्या देखाएर राज्य र जनतालाई सुविधाबाट बन्चित गर्न खोजिरहेको छ ।”

उक्त पुलको विषयमा प्रदेश सरकार र संघीय सरकारमा पनि जानकारी गराएकाे उनले बताए । ठेकेदारलाई छिटोछरितो काम गरेर त्यसको क्वालिटी दिने गरी योजना सम्पन्न गर्न दबाब दिईरहेकाे र समयमै काम सम्पन्न नभए ठेकेदारलाई ब्लाक लिष्टमा राख्ने समेत चेतावनी दिएको हमालले बताए ।

कृष्णपुर नगरपालिका वडा नं ९ राजघाटका वडा अध्यक्ष छत्र महराकाे पनि गुनासाे छ । उनी पनि पुल समयमा नबन्नुमा ठेकेदारकै लापरबाही रहेकाे बताउँछन् । 

अध्यक्ष महराले भने- “ठेकेदारलाई मुखले भन्दा-भन्दा थाकिसक्याैँ, अब  पिट्न मात्र बाकी छ तर के गर्नु पिटेर समस्याको समाधान हुदैँन ।”

'ठेकेदार कम्पनीले पुलको ६० प्रतिशत पनि काम सकेको छैन । २-३ जना मात्र कामदार लगाएको छ' उनले भने- 'मन्त्रीहरु पनि बेलाबेला पुलको अवलोकन गरिरहेका छन् । ठेकेदारले आर्थिक अभाबका कारण पुल बन्न ढिला भएको र अबको एक वर्ष थप मागिरहेका छन् ।' 

अब के गर्न भन्ने बारेमा जनप्रतिनिधि र ठेकेदार बसेर छलफल हुन बाँकी रहेकाे महराले बताए ।

उक्त पुलकाे बारेमा धनगढी वडा नं -३ का वडा अध्ययक्ष बल बहादुर ऐर भन्छन् “अब त्याे ठेकेदारले आकाश पाताल एक गरे पनि याे पुल बनाउन सक्दैन । २-३ जना कामदार लगाएर पुल बन्छ र  ? त्याे भन्दा बढि त घर बनाउँदा नै हुन्छन् । त्यसैले अब त्याे ठेकेदारलाई हटाएर अर्काेलाई ठेक्का दिनुपर्छ । पुल निर्माणकाे काम लथालिङ्ग छ । हामीले बारम्बार ठेकेदारलाई दबाब दिँदा पनि पुल बनाउन सकेन । हामीले मुख्यमन्त्री र भाैतिकमन्त्रीलाई पनि ठेकेदारलाई कारवाही गर्न माग गरिसकेका छाैँ” उनले भने ।

समयमै पुल निर्माण भएर स्थानीय जनताको मुहारमा हर्षको खुशी छाउनुपर्नेमा पुलकाे आशामा कयाैंले ज्यानै गुमाउनु परिरहेकाे तिताे यथार्थ छ ।

तस्बीर : दीपेन्द्र महरा 

लक्ष्मी बलायर

तपाईँको मत