अर्थतन्त्र

बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे

काठमाडौं । बैंकहरूले निक्षेपको ब्याजदर झनै घटाएका छन् । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् ।

२० वाणिज्य बैंकहरूमध्ये १४ वटाले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । ४ वटाले यथावत राख्दा २ वटाले भने बढाएका छन् । प्रकाशित ब्याजदरअनुसार स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकले मात्र ब्याजदर बढाएका छन् । माछापुच्छ्रे, ग्लोबल आईएमई, एनएमबि र सिद्धार्थले भने निक्षेपमा दिने अधिकतम ब्याजदर हेरफेर गरेनन् ।

प्रकाशित ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा ब्याज स्ट्यान्डर्ड चार्टर्डले दिनेछ भने सबैभन्दा कम प्रभु बैंकले दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरका सबै दरलाई घटाएसँगै बैंकहरूलाई ब्याजदर घटाउन बल पुगेको हो । मौद्रिक नीति २०८२/८३ मार्फत् केन्द्रीय बैंकले बैंकदरलाई ६.५ प्रतिशतबाट ६, नीतिगत दरलाई ५ बाट ४.५ र निक्षेप संकलन दरलाई ३ बाट २.७५ प्रतिशतमा झारेको थियो ।

फ्‌लोर रेटको रुपमा रहेको निक्षेप संकलन दर घटाएसँगै बैंकहरुले बचतको न्युनतम ब्याजदर पनि सोही अनुसार घटाएका छन् । निक्षेप संकलन दरमा स्थायि निक्षेप सुविधा दिएको राष्ट्र बैंकले त्यसभन्दा तल बचतको ब्याजदर घटाएमा उक्त सुविधा लिन पाउँदैनन् । सोही कारण निक्षेप संकलन दर ३ प्रतिशत हुँदा बचतको न्युनतम ब्याजदर पनि ३ प्रतिशतभन्दा तल झरेको थियो । तर, केन्द्रिय बैंकले पोलीसी रेट नै घटाएर बैंकहरुलाई ब्याजदर थप घटाउने बाटो दिएको हो ।

बचतको ब्याजदरसँगै बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर पनि घटाएका छन् । २ वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल झरीसकेको अवस्था छ । अझै थप ब्याजदर घट्दा कर्जा अझै सस्तो हुने देखिन्छ ।

पोलिसी रेट घटेसँगै असार २९ गते निक्षेप बोलकबोलको दर ३ प्रतिशतको हाराहारीबाट घटेर २.९२ प्रतिशतमा झरिसकेको छ ।

बैंकहरुबाट पर्याप्त कर्जा जान नसक्दा नेपाल राष्ट्र बैंकमा प्रणालीको ७ खर्ब रुपैयाँ थन्किएको छ । चालु आर्थिक वर्षको ३१ असारसम्म केन्द्रीय बैंकले वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ ।

उक्त रकममध्ये ३ खर्ब ७७ अर्ब निक्षेप संकलन उपकरणको हो भने बाँकी ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । चालु आवमा अर्थतन्त्रका सबै सूचकमा सुधार आउने तर आर्थिक गतिविधि सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रह्यो ।

मंगलबारसम्म केन्द्रीय बैंकले खिचेको वित्तीय प्रणालीको तरलता गत आवको तुलनामा दोब्बर हो । गत आव असार अन्तिममा ३ खर्ब ५५ अर्ब रुपैयाँ अधिक तरलता संकलन भएको केन्द्रीय बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत