अर्थतन्त्र

‘गाली गरेपनि सहकारीका समाचार लेख्नुहोस्’ : अध्यक्ष बडाल

ललितपुर । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष केशवप्रसाद बडालले केही नलेख्नु भन्दा सहकारीलाई गाली गरेर नै किन नहोस तर समाचार लेख्नुहोस भन्दै पत्रकारहरुलाई आग्रह गरेका छन् ।

आज पुल्चोकमा भएको ‘सहकारी सूचना सम्प्रेषण’ सम्बन्धी पत्रकारसँग अन्तरक्रिया गर्दै अध्यक्ष बडालले सहकारीका समाचार लेख्न आग्रह गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष बडालले सहकारीकाे बारेमा खोजमूलक समाचार लेख्नुपर्ने र जसको लागि आफूले दिनुपर्ने सूचना दिन तयार रहेको बताएका थिए । उनले भने, ‘भविश्यमा जेलमा भएका बन्दीको लागि पनि सहकारी ल्याउने योजना रहेको छ ।’

कार्यक्रममा सहकारी विषयको समाचारलाई मिडियाले कति ठाउँ दिन्छन ? सहकारीलाई कम प्राथमिकता दिनुको कारण र यसको समाधान गर्न के गर्नुपर्छ ? भन्दै नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाइँले विष्लेषण गरेका थिए ।

यसैगरी राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष तथा ग्लोबल बोर्डकी सदस्य ओमदेवी मल्लले सहकारीले जतिनै राम्रो काम गरेपनि मिडियाको पहिलो पेजमा समाचार नआएको गुनासो गरिन् । उनले भनिन्, ‘समाचार भित्र राम्रो भएपनि समाचार बिकाउन हेडिङ्ग चाहिँ नकारात्मक नै लेख्ने कुराले चित्त दुःखेको छ ।’

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले सहकारी र पत्रकारबीच रहेको अबुझाईलाई घटाएर दुबै तर्फबाट हेर्नुपर्ने बताइन् । ‘तपाईं पत्रकारहरुले कुनैपनि सूचना नहिच्किचाएर माग्नुहोस, हामी दिन तयार छौँ ।’ उनले भनिन् ।

कार्यक्रमको आयोजना राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले गरेको थियो ।

लक्ष्मी बलायर

तपाईँको मत