दृष्‍टिकोण

‘दाइजो प्रथा एक कलंक, न घर न व्यवहार’

[फरक - हराबरा र उजाड]

Media India Group

विवाह जीवनको एक महत्वपूर्ण पाटो हो । जीवन जिउन सजिलो होस, हर सुख दुःखमा साथ दिने र सहयोग गर्ने मान्छे भेटियोस भनेर विवाह गरिन्छ । विवाहले मान्छेको जीवनलाई पूर्णरुपमा परिवर्तन गर्ने गर्दछ । फरक यति छ कि कसैको हराबरा बनाउँछ भने कसैको उजाड ।

अब कुरा गरौँ दाइजो को । हरेक केटीहरुको विवाह गर्दा बेहुलीतर्फबाट बेहुलाका परिवारलाई दिइने नगद वा जिन्सीलाई दाइजो भनिन्छ । यो चलन परापूर्व कालदेखि नै चल्दै आएका हो । तराईतिर यसलाई दहेज पनि भनिन्छ । 

समाजमा आफ्नो इज्जत र सान देखाउन लागि वा केटा पक्षलाई खुसी पार्न भए पनि केटीका घरकाले ऋण, निकालेर र जग्गा बेचेर भएपनि दाइजो दिने गर्छन् । अहिलेको समयका जुन एकदमै जटिल समस्याको रुपमा देखिएको छ । दाइजो प्रथा जताततै छयाप्छ्याप्ती रहेको छ । फरक यति मात्र छ कि नेपालको अरु क्षेत्रको तुलनामा तराई क्षेत्रमा दाइजो प्रथा एक बिकराल समस्या र कलंकको रुपमा देखा पर्न थालेको छ ।

तराईमा अहिले छोरा जन्मदा चिठ्ठा नै परे जस्तो गर्छन भने छोरी जन्मदा पढाउने कसरी, ठुलो कसरी बनाउने त्यो सोच्दैनन् । बरु छोरीको विहेमा कसरी दाइजो दिने होला भनेर सोच्छन् । अझ धेरै छोरीहरु हुने त भिकारी बनाउने भए छोरीहरुले सोच्छन् । जसले गर्दा महिलाहरुको अस्तित्व झन चपेटाका पदै गईरहेको छ कारण, दाइजो ।

केहि समय अघिको कुरा म र मेरा साथीहरु कलेजबाट घर फर्किंदा एउटा ठेलामा चटपटे, चाउमिन र अरु नास्ताहरु खान सधैँजसो जाने गर्दथे । ति दम्पतिले ठेलाको व्यापार गरेका थिए । यसो बुझदै जाँदा उनिहरुको घर तराईतिर रहेछ । तराईतिर त दाइजो धेरै दिनुपर्छ रे ? हो दिदी भनेर सोध्दा अनि ति दिदीले पिढाले भरिएको मुहारमा हल्का मुस्कान दिँदै भनिन्, ‘हाम्रो तराईमा त धेरै दाइजो दिनुपर्छ । त्यसैले मैले मेरो छोरीको विहे गर्न सजिलो होस भनेर पहिले देखि कम कम खर्च गरेर पैसा जम्मा गरेकी छु । के गर्नु छोरीको लागि राम्रो ज्वाईं पाउनको लागि नि दाइजो दिनै पर्छ ।’ 

ति दिदीको कुराले मनमा खुबै कुरा खेल्यो सोचेँ हाम्रो समाजको यो कस्तो परम्परा हो ! केटीका घरकाले एक त छोरी नि दिनुपर्ने अझ बेहुला पक्षले मागे जति पैसा, सरसामान, गरगहनाले तिनीहरुको घर नि भरिदिनु पर्ने । तराईको केटा पक्षबाट विहे अघिनै यस्तो सामान चाहिन्छ, यति पैसा चाहिन्छ भनेर केटीका बुबाआमा सँगै नै बिहे अघिनै कुरा गरिन्छ । यदि भनेको जति दाइजो भएन भने केटा पक्षहरु बिहे गर्न नै तयार हुँदैनन् । छोरीको विहे राम्रो गर्ने आशले र मेरो छोरीलाई सुख मिल्छ भन्ने सोचले उनिहरु केटापक्षलाई खुसी बनाउन उनिहरुले भनेको सबै दाइजो दिन तयार हुन्छन् ।
 
जसले गर्दा केटी पक्षहरु ऋणको जालोमा पर्न र घर जग्गा बेच्न समेत तयार हुन्छन् । जसले गर्दा कतिपय अभिभावकहरु त मानसिक तनावमा पर्ने र आत्महत्या गर्न समेत तयार हुन्छन् । दाइजो प्रथाकै कारण समाजमा निकै समस्याहरु देखा परेका छन् । केटाहरुले दाइजो पाउने आशले दुई तिन ओटा विहे गरेको पनि भेटिएको छ ।

दाइजोलाई सामाजिक मूल्य, मान्यता र इज्जतसँग जोडने गरेको पाइन्छ । कसैले धेरै दाइजो दियो भने त्यो परिवारलाई सम्पन्न र दानी परिवारको रुपमा लिइने गरिन्छ । जसले गर्दा बेहुली पक्षहरु समाजलाई देखाउन भए पनि हाँसी हाँसी कर्जाको फाँसीमा पसेर दाइजो दिन तयार हुन्छन् । केटा जति नै शिक्षित नै किन नहोस् तर  उसको पढाई र जागिरको आधारमा दाइजो दिनुपर्छ जुन अहिलेको जल्दोबल्दो समस्या हो । दाइजो दिनु र लिनु अपराध हो भन्ने थाहा हुँदाहुँदै पनि अहिलेको पुँजिवादी समाजमा यसले बढवा पाएको देखिन्छ ।

दाइजो प्रथाकै कारण तराईका धेरै दिदी बहिनीहरुले दिनदिनै शारीरिक तथा मानसिक पीडा खेप्नु परेको छ । केटा पक्षले सम्पतिको आशले बेला बेलामा फेरि दाइजोको माग गर्दछन् । यदि केटीपक्षले  पहिले भनेको जति दाइजो दिन सकेनन भने तेरो माइती यस्तो उस्तो भन्दै गाली गदै महिलालाई निर्घात कुटपिट गरेर घरबाट नै निकाल्ने गर्दछन् । तराईका धेरै छोरी चेलीले दाइजो प्रथाकै कारण जिउँदै भए पनि मरे समान बाँच्नु परेको छ । भने कतिले त कलिलो उमेरमा नै निर्घात कुटाई खाएर ज्यानै समेत गुमाउनु परेको छ । जसको जल्दोबल्दो उदाहरण हुन् विरगन्जकी सुनितादेवी । उनि पछिल्लो मात्र उदाहरण हुन् पहिले देखि नै धेरै छोरीचेलीले धेरै कष्टकर जिवन बिताउनु परेको छ भने कतिले त ज्यान समेत गुमाईसके मात्र दाइजो प्रथाको कारण ।

माथिका कुराहरुबाट थाहा पाउन सकिन्छ दाइजो प्रथाले नेपाली मानसपटलमा कति छाप पारेको छ भनेर । दाइजो प्रथालाई सबैले मिलेर हटाउन एकदमै आवश्यक छ । केटापक्षकाले हाम्रा नि छोरीचेली छन् भोलिको दिनमा विहे गर्दा हामीलाई नि गाह्रो पर्छ र हाम्रो अवस्था नि कस्तो होला भनेर नसोचेसम्म दाइजो प्रथा हट्ने देखिँदैन् । संविधान र विभिन्न कानूनले यो विषयलाई समेटेपनि कार्यान्वयन पक्ष फितलो र समाजको रिती नै यस्तै छ भनेर साथ दिँदा समस्या बढ्नुभन्दा बढीरहेको छ । कानूनमा लेखिएपनि व्यवहारमा लागू नहुँदा नै दाइजो प्रथा निर्मूल हुन सकेको छैन । अनिच्छित रुपमा पनि तोकिएको रकम र सामानको जोहो गर्नुपर्नेक्रम अझै यत्रतत्र अनि सर्वत्र पाइन्छ । 

यसकारण दाइजो माग्ने र दिने दुबैलाई सरकारले कडा सजायको भागीदारी बनाउन सके, सबै युवाहरु मिलेर दाइजो प्रथा सम्बन्धी जनचेतना फैलाउन सके र सम्पूर्ण अभिभावकहरुलाई बुझाउन सके मात्रै दाइजो प्रथा कम हुने छ । नत्र सम्पति र सामानकै कारण न कसैको घर बन्छ न सुखी हुन्छ । यसले यति ल्यायो र दियो भन्नेमा केन्द्रित हुँदा सामाजिक प्रक्रियामा नै गम्भीर संकट उत्पन्न हुन्छ । यो कुरामा हेक्का राख्न अब ढिला नगर्ने कि !
 

लक्ष्मी बलायर

तपाईँको मत