विश्व

ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की

  • एजेन्सी
  • १७ फाल्गुण शनिबार, २०८१ | १४:१६:०० मा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपतिसँगको नोकझोँकपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई ह्वाइटहाउसबाट निकालिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार करिब १० मिनेटसम्म कडा बहस चलेसँगै जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको हो ।

सीएनएनमा प्रकाशित एक रिपोर्टका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार बहसपछि युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट निस्किएर अर्को कोठामा गएको थियो । यद्यपि अमेरिकी टोली भने त्यहीँ बसेको थियो ।

ट्रम्पले आफ्ना उपराष्ट्रपतिलगायतसँग कुरा गरेका थिए । त्यस क्रममा ट्रम्पले जेलेन्स्की वार्ताको अवस्थामा नरहेको बताएका थिए । त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्ने समय भएको सन्देश पठाएका थिए ।

वार्तापछि फेरि दुवैले संयुक्त पत्रकार सम्मेलनको तयारी भए पनि हुन नसकेको बताइएको छ । जेलेन्स्कीले युक्रेनले पूर्ण सुरक्षा नपाएसम्म रुससँगको शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने अडान राखेका थिए ।

ह्वाइट हाउसस्थित ओभल अफिसमा जेलेन्स्कीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की गरेका हुन् । ट्रम्पले जेलेन्स्कीलाई "तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको" आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका "बाहिरिने" चेतावनी दिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर "पुटिनसँग सम्झौता नगर्ने" बताए ।

विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो ।पछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले ट्रम्पसँग हुन गएको विवाद "दुवै पक्षका लागि ठीक नभएको" प्रतिक्रिया दिए । सो क्रममा उनले पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताएका छन्।

ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताए। अर्कोतर्फ जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गरे ।

ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच तर्कवितर्क भइरहँदा अमेरिकाका लागि युक्रेनी राजदूत तनावमा देखिएकी थिइन् । त्यतिखेर उनले पुर्पुरो र गालामा हात राखेको भिडिओमा देखिन्छ। उनी दुई नेताहरूको नजिकै बसेकी थिइन्।

दुई नेताबीच चर्काचर्की भएका कारण भेटपछि हुने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिने बाटो देखाइयो ।

एजेन्सी

तपाईँको मत