२०२४ हालसम्मकै सर्वाधिक गर्मी वर्ष
- एजेन्सी
- २६ कार्तिक सोमबार, २०८१ | २०:२१:०० मा प्रकाशित
संयुक्त राष्ट्रसङ्घले सन् २०२४ अभिलेख राख्न थालिएदेखि अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष हुन सक्ने चेतावनी दिएको छ।
अजरबैजानमा आयोजित विश्व जलवायु सम्मेलन (कोप २९) को पहिलो दिन प्रकाशित जलवायुसम्बन्धी प्रतिवेदनमा राष्ट्रसङ्घको एउटा निकायले त्यस्तो चेतावनी दिएको हो । राष्ट्रसङ्घको विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ) ले जलवायु परिवर्तनका सन्दर्भमा “रेड अलर्ट” जारी गरेको छ।
तर त्यसको अर्थ विश्वले दीर्घकालीन तापमान वृद्धि औद्योगिकीकरण हुनुभन्दा अघिको तहसँग तुलना गर्दा १.५ डिग्रीभन्दा कममा सीमित पार्न विफल भएको भन्ने नलाग्ने सो निकायले जनाएको छ।
‘जलवायु परिवर्तनसँग सम्बन्ध’
‘कोप २९’ मा सहभागी हुन बाकुमा भेला भएका नेताहरू विकासशील देशलाई जलवायुसम्बन्धी गतिविधिका लागि प्रस्तावित १० खर्ब डलरको प्याकेज उपलब्ध गराउनुपर्ने दबावमा छन्।
आगामी दुई सातासम्म चल्ने उक्त सम्मेलनमा विश्वका झन्डै २०० राष्ट्रका शीर्ष नेताहरू सहभागी हुँदै छन्। त्यसमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली टोली पनि गएको छ।
यो सम्मेलनको मुख्य ध्यान पेरिस सहमति २०१५ ले निर्धारण गरेअनुरूप राष्ट्रहरूले दीर्घकालीन तापमान वृद्धिलाई कसरी १.५ डिग्री मा सीमित पार्ने गरी योजना बनाउँछन् भन्नेमा छ।
यो वर्ष औसत तापमान वृद्धि १.५ डिग्री सेल्सिअस भएको छ। तर राष्ट्रसङ्घले आफूले दीर्घकालीन प्रवृत्तिको कुरा गरेको हुनाले त्यस्तो वृद्धिले लक्ष्य भने प्रभावित नभएको जनाएको छ।
यो वर्ष विश्वका विभिन्न स्थानमा जलवायुसम्बन्धी कारणहरू जोडिएका ठूलाठूला घटना र प्राकृतिक विपद्हरू भएका छन् ।
मार्च र एप्रिल महिनामा पश्चिम अफ्रिकामा चर्को उष्णलहर चल्यो भने सेप्टेम्बर महिनामा मध्ययुरोपमा भीषण वर्षा भयो । नेपाल पनि गत महिना ठूलो बाढी पहिरोको चपेटामा पर्यो ।
जलवायुको क्षेत्रमा कार्यरत वर्ल्ड वेदर अट्रिब्यूशन ग्रूपले माथि उल्लिखित र अन्य कैयौँ घटनाको सम्बन्ध मानवका कारण प्रभावित जलवायु परिवर्तनसँग भएको जनाएको छ।
पृथ्वी तात्ने क्रम नरोकिने हो भने मौसमसम्बन्धी चरम घटनाहरूको सङ्ख्या र शक्ति अझ बढ्दै जाने चेतावनी जलवायु वैज्ञानिकहरूले दिएका छन्। तिनको सामना गर्न गरिब राष्ट्रहरूलाई आर्थिक सहयोग चाहिने उनीहरूको भनाइ छ।
१.५ डिग्री सेल्सिअसको लक्ष्य
डब्ल्यूएमओका अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म विश्वमा औसत तापमान वृद्धि झन्डै १.५४ डिग्री सेल्सियसले भयो । त्यो १९औँ शताब्धीको उत्तरार्धको भन्दा बढी हो।
सन् २०१५ मा झन्डै २०० देशले जलवायु परिवर्तनको दुष्प्रभाव घटाउन सकिन्छ कि भन्ने आशासहित सन् २०१५ मा दीर्घकालीन वैश्विक तापमान वृद्धि घटाउने प्रयास गर्ने वचनबद्धता गरेका थिए।
पेरिस सहमतिले औसत वैश्विक तापमान वृद्धि २ डिग्रीभन्दा कम र सकेसम्म १.५ डिग्रीमा सीमित पार्ने लक्ष्य राखेको छ।
नौ वर्षअघि कोप २१ का बेला कुल २०० राष्ट्र र पक्षले उक्त अन्तर्राष्ट्रिय सहमतिमा हस्ताक्षर गरेका थिए । तिनका लागि यो सहमति बाध्यकारी छ । तर संयुक्त राज्य अमेरिका भने उक्त सहमतिबाट बाहिरिइसकेको छ ।
प्रतिवेदनमा जलवायुसम्बन्धी चिन्ता व्यक्त गरिएका केही प्रमुख विषयहरु यसप्रकार छन् :
समुद्रहरू तीव्र गतिमा तात्दै – सन् २०२३ मा समुद्रहरूले हालसम्मकै सबैभन्दा धेरै ताप भण्डारण गरे ।
हिमनदीहरू पग्लिने क्रम बढ्दै – सन् १९५३ मा मापन गर्न थालिएयता सन् २०२३ मा विश्वमा हिमनदीहरूले सबैभन्दा बढी हिउँ गुमाएका छन् ।
समुद्र सतह बढ्ने क्रमले तीव्रता पाउँदै – सन् २०१४ देखि २०२३ सम्म समुद्रको सतह औसतमा प्रत्येक वर्ष ४.७७ मिमिले बढेकोमा सन् १९९३ र २००२ को बीचमा त्यो क्रम दोबरले बढेको पाइएको छ ।
समुद्री हिउँ साँघुरिँदै – सन् २०२४ मा वार्षिक रूपमा अन्टार्क्टिका र आर्क्टिकमा क्रमशः दोस्रो सबैभन्दा कम र सातौँ सबैभन्दा कम मात्रामा हिउँ पाइएको छ। भूउपग्रहमार्फत् त्यसको पर्यवेक्षण गर्न सकिएको छ ।
यी नतिजाहरू जलवायु वैज्ञानिकहरूले वर्षौँयता दिँदै आएका चेतावनीसँग मेल खान्छन् । बीबीसीको सहयोगमा
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
- ट्रम्पलाई स्वागत गर्दै बाइडेन
- भारतको उत्तरी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाभन्दा बढीको मृत्यु
- नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गर्याे
- स्पेन बाढी पहिरो अपडेट: ज्यान गुमाउनेको सख्या १ सय ५८ पुग्यो
- स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
- चक्रवात दानाः भारतको १६ जिल्लामा बाढीको खतरा, पश्चिम बङ्गालपनि हाई अलर्टमा
- उत्तर कोरियाले तीन हजार सेना रुस पठाएको अमेरिकाको दाबी
प्रतिकृया दिनुहोस