विश्व

अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु

  • एजेन्सी
  • १७ माघ बिहीबार, २०८१ | १३:२४:०० मा प्रकाशित

काठमाडौं । अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो । 

उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ । बीबीसीका अनुसार उद्धारका लागि करिब ३ सय आपत्‌कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ ।

रातको समय र वासिङटनको तापक्रम कम भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । डिसीका आगलागी तथा आपत्‌कालिन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरले अँध्यारो र धमिलो पानी भएकाले उद्धारमा कठिनाइ भएको बताएका सीएनएनले जनाएको छ ।

चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा हेलिकप्टरसँग ठोकिएको हो ।

नागरिक उड्डयन निकाय (एफएए)का अनुसार स्थानीय समयानुसार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको अमेरिकन एअरलाइन्सको विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो ।

विमान दुर्घटनामा दुई टुक्रा परेको र नदीमा खसेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर उत्तानो परेर नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । तालिमका लागि प्रयोग भएको सेनाको 'ब्ल्याक हक' हेलिकप्टरमा तीन सैनिक रहेको जनाइएको छ ।

बीबीसीका अनुसा उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ । अधिकारीहरूले हवाईयात्रुलाई सुविधा प्रदान गर्न डीसीको मेट्रो रेल राति अबेरसम्म चल्ने जनाएका छन् ।

दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाउने भएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भयानक दुर्घटनाबारे दुर्घटनाबारे आफूलाई तत्काल जानकारी दिइएको र आपत्‌कालीन उद्धार कार्यको प्रशंसा गरेका छन् । 'मैले परिस्थितिको निगरानी गरिरहेको छु र थप जानकारी आएपछि विवरण उपलब्ध गराउने छु,' उनले भनेका छन् ।

एजेन्सी

तपाईँको मत