अर्थतन्त्र

प्रत्येक नेपालीकाे टाउकाेमा करिब ८६ हजार रुपैयाँ बराबर ऋण

काठमाडाैँ । हरेक पछिल्ला वर्षमा नेपालकाे सार्वजनिक ऋणको आधार बढिरहेको तथ्यांकले देखाएकाे छ । ०७३/७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो, ०७४/७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब पुग्यो । सार्वजनिक ऋण ०७५/७६ मा १० खर्ब ४८ अर्ब, ०७६/७७ मा १४ खर्ब ३३ अर्ब, ०७७/७८ मा १७ खर्ब ३७ अर्ब, ०७८/७९ मा २० खर्ब १३ अर्ब, ०७९/८० मा २२ खर्ब ९५ अर्ब रुपैयाँ बराबर पुगेको सरकारी प्रतिवेदनहरुमा उल्लेख छ ।

चालु आर्थिक वर्षको दुई महिनामै साढे ९४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार गत साउन र भदौमा मात्र सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको हो । यससँगै तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.३२ प्रतिशत हो । यसमध्ये आन्तरिक जीडीपीको २१.६६ र बाह्य २२.६६ प्रतिशत छ । हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ४९ र बाह्य ५१ प्रतिशत छ । उक्त अवधिमा आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब र बाह्य ऋण १२ खर्ब ९२ अर्ब रुपैयाँ छ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर पर्न आउँछ  ।

राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यो जनसंख्याले गत भदौसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा उक्त तथ्यांक निस्कन्छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । निरन्तर बढ्दो सार्वजनिक ऋणले जोखिम निम्त्याउने संकेत देखिएको अर्थविद् बताइरहेका छन् ।

यसले के स्पष्ट गर्दछ भने देशकाे ऋण निरन्तर उकालाे लागिरहेकाे छ भने जनताकाे दैनिकी झनै असहज हुँदै गएकाे पुष्टी हुन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत