गाउँ सहर

मिस नेपाल वल्र्ड आश्माकुमारी केसीप्रति राप्रपाकाे एकतर्फी 'प्रेम'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धोका खाएका छन् । मिस नेपाल वल्र्ड आश्माकुमारी केसीलाई केन्द्रीय सदस्य बनाउने लिङ्देनको एकतर्फी प्रयास ‘वन साइडेड लभ’ जस्तो साबित भएको छ ।

नेपाल सुन्दरी आश्माले लिङ्देनको केन्द्रीय सदस्यको अफर लत्याइदिएकी छिन् । ४० वर्ष मुनिका केन्द्रीय सदस्य स्वागत गर्ने बुधबार आयोजित कार्यक्रममा आश्मा उपस्थित भइनन् । उनले इन्स्टाग्राम लगायतका सामाजिक संजाल ह्याण्डलमा कतै राप्रपाको नाम लेखेकी छैनन् ।

लिङ्देनको निर्देशनमा मिस नेपाल आश्मा पार्टीमा जोडिने भनेर राप्रपाले महत्वका साथ प्रचारबाजी गरेको थियो, समाचारको हेडलाइन बनाएको थियो ।

राप्रपा सुत्र अनुसार, उक्त एकतर्फी प्रचार गलत सावित भएपछि लिङ्देनको मूड बिग्रीएको थियो । त्यसैकारण ध्यान अन्यत्र मोड्न उनी स्टन्टमा उत्रिए । संविधान दिवसको प्रसंग कोट्याउँदै आफूलाई पक्रन सरकारलाई लिङ्देनले चुनौति दिए, जब भने संविधान दिवसको विरोधमा लिङ्देनले कुनै कार्यक्रम राखेका थिएनन् ।

लिङ्देनले पार्टीमा एकलौटी गरेकोमा देशव्यापी असुन्तुष्टी बढ्दै गर्दा तरुण केन्द्रीय सदस्य छनौट ठूलो विवादमा तानिएको छ । पार्टी विधानको भावना अनुरुप मधेस, जनजाति प्रतिनिधित्व नभएको, काबिल र क्षमतावान यूवाहरु नसमेटीएको र विधि मिचेकोले छनौट प्रक्रिया शंकाको घेरामा छ । स्रेस्ता मिलाएर राम्रोभन्दा आफ्नो छानेको आरोप छ ।

नवीन राप्रपा भन्नु नै विधि, विधि, विधि भए पनि लिङ्देनले केन्द्रीय कार्य समितिलाई छलेर केन्द्रीय सदस्य नियुक्त गरेका छन् । एक नेता भन्छन्, ‘कर्मचारीले मात्र लोकसेवा पास गर्छन् र नियुक्ति लिन्छन्, केन्द्रीय सदस्य मनोनित वा निर्वाचित हुन्छन् । छनौट समितिले छान्ने हो, निर्णय केन्द्रीय समितिले गर्ने हो ।’

केन्द्रीय समितिलाई छल्दै विधि मिचेको कारण बहुमत नेता कार्यकर्ताले केन्द्रीय सदस्य स्वागत कार्यक्रम बहिष्कार गरे । पार्टी कार्यालय छेउको छाप्रो रेष्टुरेन्टमा बसे तर कार्यक्रममा सरिक भएनन् । केन्द्रीय सचिवालयले फोन गरेर सबै केन्द्रीय सदस्य र भातृ संगठनलाई निम्तो गरे पनि हलमा ३३ जनाभन्दा बढी सहभागी भएनन् ।

मिस नेपालले केन्द्रीय सदस्य पद किन स्वीकार नगरेको भन्नेबारे राप्रपाले कुनै प्रष्टीकरण दिएको छैन । लिङ्देनमाथि नाचगान, कविता, सिनेमा, टीकटक भिडियो र मनोरंजनमा केन्द्रीत भएको, विदेश भ्रमणमा रमाएको, पार्टी प्रवेशमा भूलेर पार्टी संगठन तहसनहस बनाएको, राजनीतिभन्दा आर्थिक आर्जनमा बढी ध्यान दिएको भन्ने आरोप छ ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत