खेल

जित नजिक पुगेकाे नेपाल ओमानसँग पराजित

काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ ।

क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोली क्यानाडासँग पराजित भएको थियो ।

गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत पनि नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेपछि ओमानलाई अन्तिम २ ओभरमा १ विकेट रहँदा १० रन चाहिएको थियो । ४९ औं ओभरमा करण केसीले २ रन मात्र दिए । अन्तिम ओभरमा ८ रन आवश्यक पर्दा शकिल अहमदले दोस्रो बलमा चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्याए । अन्तिम २ बलमा २ रन आवश्यक हुँदा कलिमउल्लाहले चौका प्रहार गर्दै ओमानलाई जित दिलाए ।

ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर सिंहलाई सन्दिप लामिछानेले आउट गराएका थिए । सिंहले ४९ बलमा ४१ रन बनाएर आउट भए । सिंह १६औं ओभरको पहिलो बलमा लामिछानेको एलबिडब्लु धरापमा परेका हुन् ।

नेपालका लागि गुलसन झाले १० ओभरमा ४७ रन खर्चिएर ५ विकेट लिए । करण केसीले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार गर्यो ।

नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे । कप्तान पौडेलले ६४ बलमा आफ्नो दशौं अर्धशतक पूरा गरेका थिए । रोहित महत्वपूर्ण पारी खेलेर ओमानका कप्तान अकिब इल्यासको बलमा आउट भए ।

जित पछि ओमान ५ खेलमा ५ अंकका साथ छटौं स्थानमा छ । पराजित नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।

ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत