गाउँ सहर

संसद् विघटनबारे ओलीको स्पष्टीकरण– एमाले समाप्त हुने देखेपछि गरेँ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्थित्व समाप्त हुने देखेपछि आफूले तत्कालीन अवस्थामा संसद् विघटन गरेको बताएका छन् ।

एमाले काठमाडौं जिल्लाको सातौँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले पार्टीभित्रकै केही व्यक्तिले एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको जिकिर गरे । संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्थित्वमा रहेको उनको भनाइ थियो ।

आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाइएको उनको जिकिर छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरिए पनि कार्यकर्तापंक्तिले पार्टीलाई बचाएको उनले बताए ।

अध्यक्ष ओलीले एमालेबाहेक अरू कसैसँग देश विकासको स्पष्ट ‘भिजन’ र नीति नरहेकाले ‘मिसन–८४’ नेपालको राजनीतिमा ‘टर्निङ प्वाइन्ट’ हुने उल्लेख गरे ।

आउँदो निर्वाचनबाट ‘काठमाडौं जिल्ला एमालेको किल्ला’ हुने उनले बताए । उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिए । 

तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौंका विभिन्न पालिकाबाट गरी ५८५ प्रतिनिधि सहभागी भएका छन् ।

अधिवेशन उद्घाटनक्रममा ओलीले व्यक्त गरेको भनाइ पढ्नोस्–
कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरि म छक्क पर्छु । पुस ५ गते अरू सबै ठिकै थियो । पुस ६ गते संसद्चाहिँ भंग नगरेको भए हुन्थ्यो, संसद् भंग किन गर्नुपर्‍यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौँ । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्‍याएका थियौँ । झन्डै दुईतिहाइको स्थिति हामीले बनाएका थियौँ । पार्टी भित्रैबाट, बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टी भित्रैबाट हुँडालो मच्चाएर बुुरुकबुरुक उफ्रिएको छ । बैठक बैठकजस्तो हुँदैन । चलाइसक्नु छैन । विकास, निर्माणको काम भएको छ । अरू काम भएको छ । पुनर्निर्माणको काम भएको छ । सबै कामहरू भएको छ, तर देख्दैन । भइँचालोले भत्काएका साढे आठ लाख घर बनाएको छ । पुनर्निर्माणका अनेक कामहरू भएका छन्, देख्दैन । अनेक नयाँ राजमार्ग बनेका छन्, देख्दैन । हजारौँ पुल बनेका छन्, देख्दैन । तुइन विस्थापन भएको छ, देख्दैन । हवाई मैदानहरू बनेका छन्, देख्दैन । राति पनि उड्ने गरी सुविधा विस्तार भएको छ, त्यो पनि देख्दैन । फोरजी सेवा देशभर विस्तार भएको छ, त्यो पनि देख्दैन । हरेक क्षेत्रका विकासको गति आएको छ, त्यो पनि देख्दैन । सडक मानवरहित सडक बनाएको छ । बालबालिकालाई खातेबाट अभिभावकत्व दिएको छ, त्यो देख्दैन । ज्येष्ठ नागरिकहरूको भत्ता बढाएको छ, त्यो देख्दैन । आज पनि उफ्रिएको छ, भोलि पनि उफ्रिएको छ, कसरी सरकार ढाल्ने भनेको छ । अनि, दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि, फेरि कुरा ठूलो गर्‍या छ । त्यति बेला प्रतिनिधिसभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउँदैन थियौँ हामीले । यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो । दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाइसक्या हुन्थ्यो । अनि, तपाईंहरूले देख्नु भएन ? नवौँ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजबुत हैसियतमा पुर्‍याएको छ, सबभन्दा ठूलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुईतिहाइको मजबुत शक्ति बनाएको छ, उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ?

गाउँ सहर संवाददाता

तपाईँको मत