स्वास्थ्य

नेपालीको औसत आयु ७३.५ वर्ष पुग्याे, ७० प्रतिशत मृत्यु नसर्ने रोगबाट

काठमाडौँ। पछिल्लो ३३ वर्षमा नेपालीको औसत आयु १५.४ वर्षले बढेर ७३.५ वर्ष पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नोभेम्बर २०२६ मा सार्वजनिक प्रतिवेदनअनुसार सन् १९९० मा ५८.१ वर्ष रहेको औसत आयु सन् २०२३ मा ७३.५ वर्ष पुगेको हो।

प्रतिवेदनअनुसार स्वास्थ्य सेवाको विस्तार, खोप कार्यक्रम तथा मातृ र शिशु मृत्युदरमा आएको गिरावटले औसत आयु बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। सन् १९९६ देखि २०२२ सम्म मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा ५३९ बाट घटेर १५१ मा झरेको छ।

तर, आयु बढेसँगै नेपालीको स्वास्थ्य चुनौती पनि फेरिएको छ। सन् २०२३ मा नेपालमा भएका कुल मृत्युमध्ये ७०.२ प्रतिशत नसर्ने रोगका कारण भएका छन्। मुटु तथा रक्तनलीसम्बन्धी रोग मृत्युको प्रमुख कारण बनेको छ।

स्वास्थ्य सेवामा पहुँच र आर्थिक भार भने अझै चुनौतीपूर्ण छन्। नागरिकले कुल स्वास्थ्य खर्चको ५९.४ प्रतिशत आफ्नै गोजीबाट बेहोर्नुपरेको छ भने स्वास्थ्य क्षेत्रमा सरकारी लगानी जीडीपीको १.९ प्रतिशतमा सीमित छ।

नर्वेको युनिभर्सिटी अफ बर्गन र नेपाल हेल्थ इकोनोमिक्स एसोसिएसनको सहकार्यमा तयार प्रतिवेदनले नसर्ने रोगको बढ्दो भारलाई सम्बोधन गर्न आधारभूत स्वास्थ्य सेवाको प्राथमिकीकरण र लगानी विस्तार गर्न सुझाव दिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत