सार्वजनिक ऋण ३० खर्ब नजिक, चार महिनामै ऋण भुक्तानीमा १ खर्ब ४० अर्ब खर्च
- गाउँ सहर संवाददाता
- १० मङ्सिर बिहीबार, २०८३ | १४:३०:०० मा प्रकाशित
काठमाडौँ। नेपालको सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै ३० खर्ब रुपैयाँको नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ।
प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्म सरकारको आन्तरिक ऋण १४ खर्ब ४० अर्ब ४७ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ रहेको छ। विनिमय दरमा आएको अनुकूल परिवर्तनका कारण सार्वजनिक ऋण दायित्वमा ४३ अर्ब ११ करोड २० लाख रुपैयाँले कमी आएको कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। तर, कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।
ऋण परिचालनतर्फ आन्तरिक ऋण उठाउने लक्ष्यको ३०.४९ प्रतिशत प्राप्त भएको छ भने वैदेशिक ऋणतर्फ लक्ष्यको ११.६२ प्रतिशत मात्रै प्राप्त भएको छ।
यता, सरकारले ऋणको साँवा तथा ब्याज भुक्तानीमा ठूलो रकम खर्च गरिरहेको छ। कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको छ। यो चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेटको ३३.७३ प्रतिशत हो।
यस अवधिमा आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ भने वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि कुल ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
सार्वजनिक ऋणको आकारसँगै साँवा र ब्याज भुक्तानीमा बढ्दो खर्चले सरकारी वित्त व्यवस्थापनमा चुनौती थपिएको देखिन्छ। विकास निर्माण, पूर्वाधार तथा अन्य सार्वजनिक सेवामा खर्च गर्न सकिने बजेटको ठूलो हिस्सा ऋणको दायित्व व्यवस्थापनमा छुट्याउनुपर्ने अवस्था देखिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालीको औसत आयु ७३.५ वर्ष पुग्याे, ७० प्रतिशत मृत्यु नसर्ने रोगबाट
- नेप्से र कारोबार रकम दुवैमा वृद्धि
- चार महिनामा ८ खर्ब बढीको वस्तु आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्बमाथि
- गगन थापाको सरकारलाई चुनौती : ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनुहोला’
- बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
- गुरु पद्मसम्भवको मूर्ति उद्घाटनसँगै राप्ने पूजा सुरु, सुनापतिमा पर्यटन महोत्सवको तयारी तीव्र
- २२औं लेखनाथ महोत्सव पुस २ देखि
- २४ बुँदामा नेपाल-भारत संयुक्त वक्तव्य (पूर्ण पाठसहित)
- यी हुन् नेपाल-भारतबीच भएका ८ समझदारी
- नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा
प्रतिकृया दिनुहोस