बैंकिङ्ग क्षेत्रमा कार्यरत कर्मचारीमा बढ्दो मानसिक तनाव, यसरी गर्न सकिन्छ व्यवस्थापन
- डा. दिबाकर बशिष्ठ
- २३ कार्तिक बिहीबार, २०८० | ०७:३८:०० मा प्रकाशित
बैंकिङ्ग क्षेत्रमा विशेषत सरकारको स्वामित्वमा रहेका र नीजि क्षेत्रमा संचालित बैंक तथा वित्तिय संस्थालाई प्राथमिकतामा राखेर रोजगारीमा प्रवेश गर्ने क्रेज युवा युवतीहरुमा पछिल्लो समय निकै बढेको देखिन्छ । तर बैंकिङ्ग क्षेत्रमा बाहिरबाट हेरेजस्ताे सजिलाे भने छैन । यसकाे व्यवस्थापनकाे अदृष्य पाटाे भने टिठलाग्दाे पनि छ । एक अध्ययनका अनुसार तुलनात्मक रुपमा हेर्दा नीजि क्षेत्रमा संचालित वित्तिय संस्थाहरुमा तल्लो तहका कर्मचारी माथिल्लो तहबाट निकै पेलिएको, कर्मचारीको क्षमताले पुरा गर्न नसक्ने लक्ष्य निर्धारण गरिएको, सानो गल्तीमा पनि न्युन तहका कर्मचारीलाई विभिन्न बहानामा मानसिक तनाव दिने लगायतको कारण बैंकको जागिर छोडेर विदेश जाने वा आत्महत्या गर्ने वा डिप्रेशनमा जाने खतरा दिन प्रतिदिन बढेको चर्चाले बैंकिङ्ग क्षेत्रको शाख र कर्मचारी उत्पादकत्व घट्ने कुरामा कसैको विमति नरहला ।
कर्मचारीलाई दिइने लक्ष्यलाई हेर्दा निक्षेप संकलन, कर्जा लगानी र असुली आदिमा क्षमताले नसक्ने किसिमले दिईएको देखिन्छ । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय लगायत बैंकिङ्ग क्षेत्रमा मुस्कान सहितको सेवा दिनेबारे विगतमा निकै चर्चा चलेता पनि हाल यो छाँयामा परेको हो कि भन्नेहरुको कमी छैन । फेरी बैंकिङ्ग क्षेत्रमा काम गर्ने कर्मचारी अधिकांश विहान ९ बजे नै कार्यालय पुग्नुपर्ने र बेलुका हिसाब नमिलेसम्म घर कति बजे फर्किने भन्ने ठेगान नहुने अवस्था, त्यसमा पनि विभिन्न खालको दवाबले उत्प्रेरणामा कमी आईरहेको परिवेशमा मुस्कान सहितको सेवाको कल्पना गरेर कार्यालयमा प्रवेश गर्ने ग्राहाकले अपेक्षा गरे अनुरुपको सेवा नपाउन सक्दछन् ।
नेपाल राष्ट्र बैंकको २०८० श्रावण सम्मको तथ्यांक हेर्दा क, ख, ग, घ वर्गका बैंक तथा वित्तिय संस्था र पूर्वाधार विकास बैंसहित ११२ वटा बैंकहरुमा करिब ९० हजार कर्मचारी विभिन्न पदमा कार्यरत छन् । नेपालमा फ्रन्ट डेक्समा बस्ने कर्मचारीको संख्या कुल कर्मचारीमा ४० प्रतिशतको हाराहारीमा देखिन्छ भने व्याक डेस्कमा बस्नेको संख्या ६० प्रतिशतको नजिक छ तर विदेशी मुलुकहरुमा यसको ठिक उल्टो छ । व्याकमा बस्नेलाई भन्दा फ्रन्टमा बस्नेलाई नियमित ग्राहकको सम्पर्क हुने हुँदा बढि ग्राहकसँग डिल गर्नुपर्ने देखिन्छ । तर नेपालको परिवेशमा फ्रन्ट डेस्क र व्याक डेस्कमा बस्नेलाई खासै तलब भत्तामा अन्तर देखिँदैन । फेरि फ्रन्ट डेस्कमा बस्नेलाई जति कार्यलोड हुन्छ व्याक डेस्कमा बस्नेलाई कम हुन्छ । अर्कोतर्फ महामारी र संकटको अवस्था चाहे त्यो भुकम्पको बेलाको होस वा वा विगतको कोरोना भाइरसको संकट नै किन नहोस बैंक तथा वित्तिय संस्था अत्यावश्यक सेवा भएको कारण यस्तो अवस्थामा कार्यगर्ने कर्मचारी पनि फेरी फ्रन्ट डेस्कमै कार्यरतबाट आलोपालो खटिने व्यवस्था प्रचलित छ र जब रोटेसनको प्रचलन पनि न्यून छ जसले एकै प्रकृतिको कार्य सधैँ गरिरहन पर्ने भएकोले फ्रस्टेशन र जब स्ट्रेश एवं उत्प्ररणामा कमी आउने दर बढि रहेको देखिन्छ ।
बैंकिङ्ग क्षेत्रलाई अग्रणि बनाउन निक्षेप, तरलता र बृहत शाखा संजालको व्यवस्थापनको साथै कर्मचारी उत्प्रेरणाको उतिकै जरुरी छ । यदि कर्मचारी उत्प्रेरणाको कमीले तनावलाई बढाईरह्यो भने बैंकिङ्ग क्षेत्रको अवस्था के होला ? सम्बन्धित निकायले बेलैमा सोच्नु पर्ने देखिन्छ । घटना भएपछिको सावधानीले खासै अर्थ राख्दैन घटना हुनुभन्दा अघि सावधान हुनु पर्दछ । हालका दिनहरुमा आर्थिक सुविधा, कार्यविशिष्टीकरण र कार्यवर्णन, जब रोटेशनलाई लिएर कर्मचारीको गुनासो व्याप्त छ । जसबाट बैंकिङ्ग जनशक्तिको उत्पादकत्वमा कमि आएको छ । जोखिम बढि वहन गर्ने कर्मचारी र कम जोखिम वहन गर्ने केन्द्रिय कार्यालय वा क्षेत्रिय कार्यालयमा काम गर्ने कर्मचारीमा सेवा सुविधा र तलब भत्तामा कुनै अन्तर छैन । बरु खर्च कटौतीको नाममा कतिपय बैंक तथा वित्तिय संस्थामा सकेसम्म कम तलबमा करार वा इन्टर्नमा कर्मचारी राखी कार्य गराउने प्रवृतिले गर्दा जोखिमपूर्ण जिम्मेवारी लिन सकभर कर्मचारी चाहदैँनन् । केन्द्रिय कार्यालय वा क्षेत्रिय कार्यालयमा कार्यरत कर्मचारी शाखा कार्यालयमा जानु पर्दा निकै कठिन महसुस गरेको पाईन्छ । यसले कर्मचारीको मनोबल र उत्पादकत्वलाई चुनौती दिन्छ । उनीहरुमा उत्प्रेरणाको कमी देखिने समस्या त यथावत नै भएको अवस्थामा प्राकृतिक प्रकोप र राष्ट्रिय संकट एव महामारी आउदा पनि बैंकिङ्ग क्षेत्र विशेषत शाखा कार्यालयमा कार्यरत कर्मचारी जहाँ जनतासँग प्रत्यक्ष सम्पर्क हुन्छ उनीलाई झन जोखिमले पिरलिरहेको कारण सामाजिक मिडियामा समेत बैंकका कर्मचारीहरुले अनेक गुनासा पोखिरहेको यत्रतत्र देखिन्छ ।
तसर्थ उपलव्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्दै क्षमता अनुसारको कार्यविभाजन र मित्रवत व्यवहार एवं सहभागितामूलक व्यवस्थापन र दुईपक्षिय संचारको पद्धतीमा जान सकियो भने मानसिक तनावालाई केही हदसम्म कम गर्न सकिन्छ । मानसिक तनाव पारिवारिक चिन्ता एवं संगठनात्मक बनोट, अधिकार, कर्तव्य, राजनैतिक, आर्थिक, सांस्कृतिक एवं अभिप्रेरणाको कमी आदिबाट पनि हुने गर्दछ । हाल हरेक देशका परिवारका सदस्यहरु सबैजना एकै ठाउँमा रहेको अवस्था छैन । एकातर्फ एकै देशमा पनिसँगै बस्न पाएका छैनन् भने अर्कोतर्फ कोही अमेरिका, अष्ट्रेलिया, भारत आदिमा बसोबास गर्ने हुँदा त्यसै पनि अभिभावकको मानसपटलमा चिन्ता र तनाव घुमिरहेको छ ।
तसर्थ तनाव घटाउनको लागि बैंकिङ्ग क्षेत्रबाट कर्मचारीहरुलाई नियमित उत्प्रेरणा एवं तालिमको व्यवस्था हुनुपर्दछ । मुलतः तनाव हुनुका कारणहरुमा कार्यालय तहको कार्य वातावरण जसमा कामको प्रकृति, कार्यबाेझ, कार्य समय, सहभागिता, वृतिविकास, सम्बन्ध, संगठनको संस्कृति, अधिकार, उत्तरदायित्व र कर्तव्य लगायत पर्दछन् भने अन्यमा आर्थिक अनिश्चितता, राजनैतिक, सांस्कृतिक, आर्थिक, वातावरणिय, प्रभावको कारण पनि कर्मचारीहरुमा तनावको स्थिति आउँदछ ।
विश्व मानचित्रलाई गणितिय रुपमा हेर्दा मानिसलाई तनाव धेरै कारणले हुने भएतापनि हाल सबैभन्दा बढि तनाव आर्थिक कारोबार समेत गर्ने संस्था भएको हुँदा बैंकिङ्ग क्षेत्रमा नै देखिएको छ जसले मानिसमा अनिद्रा, मुटुरोग, रक्तचाप, दम बढ्ने, क्यान्सर, मधुमेह, टाउको दुख्ने, रिंगटा लाग्ने, अल्कोहल पिउन मनलाग्ने, पेटको रोग, बढि रिसाउने, थकान, असन्तुष्टि, दुव्र्यसन, आत्महत्या, उत्प्रेरणामा कमी, कार्यसम्पादनको स्तर ह्रास, बीचमा नै काम छाड्ने, गुणस्तरमा ह्रास र अन्य मानसिक समस्याहरु देखिन थालेको पाईन्छ ।
हुनत व्यवस्थापकिय दृष्टिले हेर्दा निश्चित स्तरसम्मको तनावलाई उपयुक्त मानिन्छ । किनकी सामान्य तनावले व्यक्तिलाई उत्प्रेरित गर्दछ । त्यसाे त यदि हामीले सामान्य तनाव नलिने हो भने बैंकिङ्ग जोखिमबाट बच्न र नाफा तथा उत्पादकत्व बढाउने कुराबाट चुक्न सक्छौँ । तनाव व्यवस्थापन तनावग्रस्त व्यक्तिले आफैँले गर्नु पर्दछ । बैंकिङ्ग कार्यबाेझ र कार्यालय प्रमुखको निर्देशन लगायतबाट हुने तनावलाई कम गर्न गहिरो निन्द्रा, सन्तुलित खाना, मनोरञ्जन, योग तथा व्यायाम, सकारात्मक सोच, आत्म नियन्त्रण, समय व्यवस्थापन, चिकित्सकसँगको परामर्श, वर्तमानसँग रमाउने बानी, सकारात्मक सन्देश प्रवाह, अनुकूल कार्य वातावरण, सहभागितामूलक व्यवस्थापन, स्पष्ट लक्ष्यलाई प्रमुख तत्वको रुपमा लिन सकिन्छ ।
यसर्थ तनाव व्यवस्थापन बैंकिङ्ग जोखिम व्यवस्थापन नियन्त्रणको मेरुदण्ड हो । त्यस्तै सामाजिक संगठनसँग आवद्ध भई खाद्यान्न वितरण, खान नपाउनेलाई खानाको व्यवस्थाको लागी पहल, पत्रपत्रिका र टेलिभिजनमा न्युज वा फिल्महरु हेरेर पनि तनावलाई व्यस्थापन गर्न सकिन्छ । आफ्नो खेत, करेबारीमा कार्य गर्ने, सकारात्मक सोचको बारेमा लेख्ने, पढ्ने बानी बसाल्ने, घर कम्पाउण्डमा आफ्नो परिवारबीच खेलकुदका गतिविधी गर्ने गराउने, टेलिफोन, भिडियो च्याट, सोसियल मिडिया, टेक्स मेसेज, इमेल मार्फत साथिभाई वा अन्य व्यक्तिसँग एक आपसमा सिक्ने सिकाउने गतिविधिहरुमा संलग्न हुने जस्ता क्रियाकलापले तनाव व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेल्दछ ।
तनाव बढ्यो भने प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । तनाव घट्यो भने मजबुत हुन्छ । प्रतिरोधात्मक क्षमता बलियो हुँदा मनोबलमा वृद्धि भई गुणस्तरिय सेवा मा सहजता र बैंकिङ्ग जोखिमसमेत कम हुन्छ । तनाव व्यवस्थापनद्वारा व्यक्तिको मानसिक र शारिरीक दुवैलाई क्षमतावान बनाउन सकेको खण्डमा विभिन्न बैंकिङ्ग जोखिमबाट बच्न सकिन्छ । विज्ञका अनुसार बैंकिङ्ग क्षेत्रमा काम गर्ने कर्मचारीले विशेष गरि ७ वटा कार्यमा अभ्यस्त हुन सक्यो भने तनाव कम हुन्छ भनेका छन् जसमा मेरो तनावको कारण केहो ? यसलाई कसरी नियन्त्रण गर्ने ? तनाव व्यवस्थापन गर्न नसक्नुको कारण के हो ? नकारात्मक सोचलाई तत्कालै परिवर्तन गर्ने, सक्रिय जिवन बिताउने र सकारात्मक सोचको विकास गर्ने साथै हल्लाको पछि नलाग्ने रहेका छन् ।
हाल बैंकका हाकिमले कार्यालयको आवश्यकता अनुसार दिने तनावभन्दा पनि एक जना सानो तहको कर्मचारीको तलबकाे भरमा धेरै जनाको लागि आवश्यकीय वस्तु, बस्ने, खाने व्यवस्था, आर्थिक समस्या, औषधीउपचार र रोगसँग लड्ने आवश्यक स्वास्थ्य उपकरण लगायतको अभावले कर्मचारीमा थप तनाव सृजना गरेको बेलामा कार्यालय प्रमुखबाट यदि अनावश्यक दवाब र तनाव दिईयो भने बैंकिङ्ग व्यवसायमा चुनौती थपिने निश्चित छ । तसर्थ बढि भन्दा बढि स्रोत र साधनको परिचालन गर्ने, कर्मचारीलाई अनावश्यक दवाब र टर्चर नदिने, मैत्रिपूर्ण व्यवहार गर्ने, दक्षता र क्षमता अनुसारको काम लगाउने, बेला बेलामा जब रोटेशन गर्ने, ठिक कर्मचारी, ठिक समयमा, ठिक काममा लगाउने, कार्य र योग्यता र क्षमता अनुसारको तलव को व्यवस्था लगायतले मात्र कर्मचारीको तनावलाई नियन्त्रण गर्न सक्ने कुरामा कसैको दुईमत नहोला । (लेखक बैंक तथा वित्तिय क्षेत्रका विज्ञ हुन् ।)
डा. दिबाकर बशिष्ठ
डा. बशिष्ठ स्तम्भकार हुन् ।
- बाफिया के हो ? बैंकिङ्ग क्षेत्रमा यसको भुमिका र मुख्य व्यवस्थाहरु
- प्रशिक्षार्थी कर्मचारी भर्ना बेमौसमको बाजा, त्रिवि सुधार राजनीतिक दाउपेचको चेपुवामा
- आगामी वजेटको प्राथमिकता ओझेलमा, निरन्तर सत्ता परिवर्तनले जनअपेक्षा पुरा हुनेमा शंका
- आरबीबी म्यानेजमेन्ट कन्फेरेन्स-२०२४ बैंकिङ्ग विकासको कोशेढुंगा
- राजनीतिक अस्थिरताले कर्मचारीतन्त्र तरङ्गित
- बैंक दु:खको साथी, सुन्दर भविष्यको लागि बैंकिङ्ग शिक्षा
- भाषण गरेरमात्रै मुलुक बन्दैन
- अर्नगल प्रचारको चेपुवामा बैंकिङ्ग क्षेत्र, समाधानका उपाय
- परीक्षामा सफलताका सुत्रहरु
- त्रिभुवन विश्वविद्यालयमा अबको नेतृत्व र जनअपेक्षा
प्रतिकृया दिनुहोस