प्रेरणा

राइजिङ्ग स्टार युथ  क्लवका अध्यक्ष विष्णु गुरुङ्गको समाजसेवा सराहनीय

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ ,रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ  क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङको समाजसेवा सराहनीय बनेको छ । क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङको  समाजसेवामा निरन्तरता रहेकै कारण हाल पोखरामा राम्रा काम गर्ने क्लवका गणनामा अग्रस्थानमा आउँछ । युवाहरुले समाज परिवर्तनका लागि उदाहरणीय काम गरेर देखाएको क्लवका रुपमा राइजिङ्ग स्टार युथ  क्लवको नाम आउने गर्दछ । क्लवको नेतृत्व असल भैदियो भने क्लव मात्रै हैन समाज नै प्रगतिपथमा अगाडि बढ्छ भन्ने कुराको उदाहरण बनेका छन् अध्यक्ष विष्णु गुरुङ्ग ।

क्लवका वार्षिक कार्यक्रम अन्तर्गतको  खुल्ला रक्तदान उत्तिकै महत्वपूर्ण छ । वार्षिक कार्यक्रमका रुपमा २६ औं पटकसम्म लगातार रक्तदान कार्यक्रम गरी कास्की जिल्लामै धेरै रगत संकलन गर्ने क्लबहरुमा उत्कृष्ट बन्दै आएको  तथा कोभिडको महामारीका  समयमा बजारमा देखिएको रगतको अभावलाई पुरा गर्न पटक पटक आकस्मिक रक्तदानको समेत आयोजना गरेको उनले बताए ।

स्थानीय स्तरको विकास निर्माणमा युवाको सहभागीता बढाउन क्लवले युवाहरुलाई सरसफाई र खेलकुदको क्षेत्रबाट अगाडि वढाउदै आएको छ । स्थानीय वीर आधारभूत विद्यालयको पछाडि रहेको खाली ठाउँमा रहेको खाल्डो पुरी  खोप केन्द्र निमार्णमा योगदान पु-याएको छ ।

बृहत् पोखरा सफाइ अभियानसँग सहकार्य गर्दै पोखराका फेवाताल, बेगनासताल सफाइमा समेत सकृयता देखाएको क्लबले हरेक शनिवार रिठ्ठेपानी सफाइ अभियान सञ्चालन गरिरहेको अध्यक्ष गुरुङ्ग  बताउँछन् । क्लवको १००औं सफाइ अभियानमा बृहत् पोखरा सफाइ अभियानको पनि सफाइ अभियान रिठ्ठेपानीमा सम्पन्न भएकोे थियो भने हालसम्म १४६ औं श्रृङ्खलाको सफाइ अभियान सम्पन्न भैसकेको छ । यसका लागि उनले प्रगतिचोक आमा समाज लगायतका त्यस क्षेत्रमा क्रियाशील संघसंस्था र युवाहरुको साथ सहयोगलाई सम्झिए ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा र भलिवल खेलको विकास पु-याउने लक्ष्य सहित रिठ्ठेपानी खेल मैदानमा पटक पटक भलिवल प्रतियोगिता सम्पन्न गरेको यस क्लबले सभ्य समाज निर्माणमा पठन संस्कृति अपरिहार्य भएको भन्दै पुस्तक पढ्ने बानीको विकास गर्न रिट्ठेपानीमा पुस्तकालयको शुभारम्भ गरी पत्रपत्रिकाको प्रबन्ध समेत मिलाएको छ ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएको यस राईजिङ्ग स्टार युथ क्लवका अध्यक्ष गुरुङ्गले कोभिडको महामारीमा आफ्नै निजी सवारी साधनको प्रयोग गरी विरामीलाई अस्पताल लैजाने तथा ल्याउने काम गरेका थिए भने पोखरा २६ तथा २७ वडाका न्यून आर्थिक अवस्था  भएका ७ जना मृगौला रोगीहरुको उपचारमा सामाजिक संजाल मार्फत सहयोगको आव्हान गर्दै करीव वीस लाख रुपैयाँ संकलन गरी उनीहरुलाई दिंदा विरामीहरुले ठूलो राहतको महसुस गरेका छन् । पोखरा २६ तथा २७ वडाका रिठेपानी क्षेत्रका करीव ९५० घरधुरीमै पुगी उनले १८ वर्ष मुनिका बालबालिकाहरुलाई रक्सी,चुरोट तथा सुर्तीजन्य पदार्थको विक्री वितरणमा नलगाउन अभियान नै चलाए । लागूऔषधमा फसेका युवाहरुलाई सुधार केन्द्रमा राख्न र लागूऔषध विरुद्धको सचेतना  कार्यक्रम लिएर घरघरमै उनी पुगेका छन् ।

क्लवको सक्रियतामा बास्केटबल ग्राउण्ड, जीम हल, फुटबल ग्राउण्ड, व्याडमिन्टन कोर्ट समेत निर्माण हुनु राम्रो र उदाहरणीय काम भएको उक्त क्लबका संस्थापक अध्यक्ष समेत रहेका हालका पोखरा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ बताउँछन् ।

साविक लेखनाथमा रहेका  विभिन्न संघ सस्था,टोल, आमा समुह, युवा क्लब,विद्यालयहरु, लेखनाथ उद्योग वाणिज्य संघ,इलाका प्रशासन कार्यालय, पोखरा महानगरपालिकामा उनले लागूऔषध नियन्त्रण र फोहोरमैला व्यवस्थापन सम्बन्धमा ज्ञापनपत्र नै बुझाएका थिए भने गण्डकी प्रदेश प्रहरी कार्यालय लागूऔषध व्यूरोसंग समन्वय गरी विद्यालयहरुमा  सचेतनामूलक कार्यक्रम लिएर उनी पुगेका भेटिन्छन् । न्यून आर्थिक अवस्था  भएका स्थानीय वीर आधारभूत विद्यालयका छात्राछात्रालाई शैक्षिक सामग्री पनि बेलाबखत जुटाउन लागि पर्छन् भने आफ्नै खर्चमा १ विद्यार्थी पढाइदिएका रहेछन् ।

सार्वजनिक स्थलमा १०० वटा डस्टविनको प्रबन्ध मिलाएका छन् यसै गरी क्लब परीसरमा सार्वजनिक शौचालय बनाई सेनेटरी प्याडको निशुल्क व्यबस्था क्लबकैतर्फबाट गरिएको छ । सार्वजनिक सम्पत्तिको हिनाविना तथा तोडफोड नहोस् भनेर १० वटा सिसी क्यामेराको सहायताले निगरानी भैरहेको अध्यक्ष गुरुङ्ग बताउँछन् । यसरी एउटा युवा क्लबको अध्यक्षका रुपमा उनले गरेको निस्वार्थ समाजसेवा सराहनीय बनेको पाइन्छ ।

विष्णुहरि पाैडेल

तपाईँको मत