कृषि

कृषि प्रेरणादायी अधिकारी

पोखरा । पोखरा महानगरपालिका-३३ बाघमारा चैनपुर फेदीका कृषक सुदनराज अधिकारीको  क्रियाशीलता प्रेरणादायी छ । आफ्नो कृषि कार्यमा जुटिरहँदा २०७७ साल असारको २६ गते भर्तिपोखराको डाँडादेखि आएको पैरोले बगाएर ल्याएको लेदो माटोले पुरिंद ६ वटा करङ भाँचिएर पोखरा हुँदै काठमाडाैंसम्मको उपचारले पुनर्जीवन नै पाएको बताउने अधिकारीले आफ्ना बुबा ६३ वर्षीय खगेन्द्र अधिकारी सहितको परिवार विगत चार दशक यता व्यावसायिक कृषिमा निरन्तर जुटिरहेको बताए ।

पाउलोनियासँगै कफीखेती पनि सँगसँगै सुरु गरी कफी गोड्दै गरेका यी कृषक अधिकारीले विगतको स्मरण गर्दै आठ रोपनी क्षेत्रफलमा लगाइएका सुन्तलाले झन्डै २५ वर्षसम्म राम्रो उत्पादन दिएको त्यसपछि रोग आएर पोखराकै पहिचान बनेको बाघमाराको  सुन्तला मासिएपछि त्यस ठाउँमा के लगाउने भन्ने सोच बढ्दै जाँदा पाउलोनियाबारे केही बुझेर त्यहाँको आठ रोपनी क्षेत्रफलमा सुरुमा आठ सय बोट पाउलोनिया लगाएको जानकारी दिए ।

बिरुवा लगाएको १० वर्षमा पूणर् रुपमा उपयोग गर्न सकिने भएकोले अबको चार वर्ष यसको पर्खाइमा रहेको उनी बताउँछन्। मलिलो माटोका साथै यसको उचित संरक्षण र संवद्र्धन भएमा पाउलोनियाको बिरुवा रोपेको एक वर्षको अवधिमा २० देखि २५ फिट अग्लो हुने र तीव्र वृद्धिदर रहेको मानिने पाउलोनिया रोपेको १० वर्षमा एउटा बोटबाट ४० देखि ६० क्युफिट काठ उत्पादन भई एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी गर्न सकिने उनका भाइ सुरजराज अधिकारी बताउँछन् ।  

बुबा खगेन्द्र अधिकारीले सुन्तला खेतीका साथै पशुपालन, कुखुरापालन, हिउँदे एवं वर्षे तरकारी हुँदै नयाँ जातका बोट बिरुवा उत्पादन गरी व्यावसायिक कृषिकै माध्यमबाट परिवारको पालनपोषण र राम्रो शिक्षादिक्षा पनि दिएकै कारण भाइ सुरजराज अधिकारीले वनस्पति शास्त्रको अध्ययन गरी पोखराको पृथ्वीनारायण क्याम्पसमा वनस्पति शास्त्रको अध्यापन समेत गराउँदै आएका उनले सुनाए ।

बुबा खगेन्द्र अधिकारीले  गोलभेँडा खेतीबाट व्यावसायिक कृषि थालेका र व्यावसायिक गोलभेँडा खेतीबाट वार्षिक डेढदेखि दुई लाखसम्म आम्दानी समेत गर्दथे । सिट्रस ग्रिनिङ रोगका कारण सुन्तला सखाप भए जस्तै गोलभेडामा पनि रोग आएर पहिले जस्तो उत्पादन हुदैन। विकल्पको खोजी गर्दै जाँदा पाउलोनिया उत्तम विकल्प बनेको हो ।

कृषिका नयाँ नयाँ प्रयोगमा रमाउने र सफल बन्ने उनका बुबा खगेन्द्रले  समय समयमा बेमौसमी काँक्रा खेतीबाट राम्रो आम्दानी नगरेका होइनन् । उनले गाईपालन गरेर दैनिक एक सय ५० लिटरसम्म दूध पनि बेच्थे भने रोगजन्य प्रकोप नहुँदा कुखुराबाटै पनि वार्षिक तीन/चार लाखसम्मको आम्दानी गरेको विगत पनि कृषक सुदनले सम्झिए ।

आठ सय पाउलोनियाका बोटमध्ये हाल छ सय बोट कायम रहेको जानकारी दिँदै उनले बोट राम्रैसँग हुर्किएको बताए । कफीका लागि छहारी आवश्यक हुने भएकाले पाउलोनियाको फेदमा कफी पनि राम्रो फस्टाएकाले अघिल्लो वर्ष मात्रै करीब दुई सय ५० किलो बिक्री गरेको जानकारी दिए ।

पाउलोनियाका बोट चार/चार मिटरको दूरीमा लगाउन सकिने र त्यसको तल दुई/दुई मिटरको दूरीमा कफीका बोट लगाउन सकिने उनको भनाइ छ । पाउलोनिया पशुवस्तुलाई घाँसका लागि पनि उपयुक्त हुने बताउँदै उनले अग्लो रूखका कारण चढेर घाँस काट्न नसकिने भए पनि झरेका पात बाख्रा तथा गाईका लागि उपयुक्त हुने बताए । पाउलोनियाका काठबाट कुर्ची लगायत फर्निचर र मौरीका घारसमेत बनाउन बनाउन सुरु गरिसकेका छन्। यसको काठ हल्का हुने भएकाले डुङ्गा,तथा पानी जहाजमा बढी उपयोगी हुन्छ ।

व्यावसायिक कृषिमा एक पछि अर्को विकल्पका प्रयोग भइरहेको र प्रत्येक विकल्पमा सफलता मिलेको आँफूहरूले अनुभूति गरेको उनका पिता खगेन्द्र अधिकारीले बताए । उनीहरूकै सक्रियतामा कास्कीको रुपा गाउँपालिकाको देउरालीमा ७० रोपनी जग्गामा पनि पाउलोनियाका बिरुवा लगाइएको र बोट राम्रोसँग हुर्किरहेका भाइ सुरजराज अधिकारीले बताए ।

बर्तमानमा खेतबारी बाँझिदै गएका अवस्थामा अधिकारी र उनको परिवारको क्रियाशीलता र सफलताको कथा अरूका लागि प्रेरणादायी बनेको छ ।

तपाईँको मत