राजनीति

मतगणना अपडेटः के छ त विभिन्न स्थानमा मतगणनाकाे अवस्था ?

काठमाडौँ। देशका बिभिन्न स्थानमा मतगणना शुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज बिभिन्न स्थानमा मतगणना सुरु गरिएको हो ।

काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको हाे । केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । 

ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ । बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना छ । गोदावरी नगरपालिका–२ अन्तर्गत विशङ्खुनारायण क्षेत्रको एक हजार दुई सय ८३ मत गणना हुँदा नेकपा (एमाले)को छ सय ६२, नेपाली कांग्रेसको चार सय दुई, राष्ट्रिय स्वतन्त्र पार्टीको ९३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५१ तथा अन्यमा १० र बदर मत ६५ रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणाम भोलि रातिसम्म सार्वजनिक हुने बताइएको छ ।ललितपुर १ मा जम्मा ७४ हजार तीन सय ३९७ मतदाता रहेकोमा ५० हजार सात सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा कांग्रेसका उदयशम्शेर राणा, एमालेका नवराज सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यसहित २१ प्रतिस्पर्धीमा छन् ।

कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो ।

मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ ।एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताए ।पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले दुई सय ६१ मतले अग्रता लिनुभएको छ । उनले एक हजार ६८ र नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनले आठ सय सात मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याकका नौवटा मतदान केन्द्रको गणना सकिएको छ । दुई स्थानमा मतगणना भइरहेको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा तर्फको मतगणना सुरु भएको छ । पहिलो चरणमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ ब्रहम स्थानको र महदेबा गाउँपालिका ५ भगबतपु बुथको मतपेटिका खोलिएको छ ।

रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए । यस क्षेत्रमा  ७७ हजार ६४ मत खसेको थियो । यहाँ कुल मतदाता १ लाख १० हजार ६६९ रहेका थिए ।

नुवाकोटमा अहिले दुईवटै निर्वाचन क्षेत्रमा मतपेटिका सङ्कलन भइरहेको छ । मतपेटिका सङ्कलन सम्पन्न गरेपछि गणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । निर्वाचनमा ५४ दशमलव ३९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिकाएको छ ।

सिन्धुपाल्चोकको मतगणना दिउँसोबाट सुरु हुने भएको छ । सिन्धुपाल्चोक १को तेम्बाथान बाहेकका मतपेटिका संकलन भइसकेको र केहिबेरमा सर्वदलिय बैठकको समय निर्धारण गरिने छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ को मतगणना दिउँसो ३ बजेपछि गर्नेगरी तयारी भएको छ । क्षेत्र न २ का २ बजे मतगणना सुरु गरिने बताईएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत