गाउँ सहर

आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा

कहिल्यै साइकल नचलाएकी एक युवती, जसको बाल्यकाल र युवावस्था गुम्बाको शान्त वातावरणमा बित्यो । जीवनको लक्ष्य थियो-आनी बन्ने । तर समयसँगै त्यो शान्त जीवनले उनलाई प्रश्न गर्न थाल्यो- गुम्बाबाहिरको संसार कस्तो होला ?

आज ती नै युवती हिमाली भेगका उकालो–ओरालो, कच्ची र अप्ठ्यारा बाटो चिर्दै बाइकको एक्सेलेरेटर थिचिरहेकी छन् । उनी सामाजिक परिवर्तनको सन्देश बोकेर दुर्गम बस्तीमा पुगिरहेकी छन् । उनी हुन्- सविना तामाङ गोले, महिला राइडरहरूको संस्था दुई पाङ्ग्रे क्वीन्सकी सक्रिय सदस्य।

धादिङलाई केन्द्रविन्दुमा राखेर हालै सम्पन्न ‘ह्वील्स अफ वार्म्थ : राइड फर चिल्ड्रेन एन्ड कम्युनिटी’ कार्यक्रम सविनाजस्ता महिला राइडरहरूको साहस, संवेदना र सामाजिक उत्तरदायित्वको जीवन्त उदाहरण बनेको छ । यस राइडमार्फत दुई पाङ्ग्रे क्वीन्सको टोलीले दुर्गम बस्तीका बालबालिकाको शैक्षिक अवस्था सुधारमा टेवा पुग्ने अपेक्षासहित न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरेको छ।

संस्थाकी संस्थापक तुलसा पहाडीका अनुसार धादिङको उत्तरी भेगमा रहेको रुवीभ्याली गाउँपालिका–४ स्थित डुवाङ आधारभूत विद्यालयका विद्यार्थीलाई लक्षित गरी उक्त सहयोग गरिएको हो ।

“दुर्गम क्षेत्रमा पढ्ने बालबालिकाको पढाइ सहज बनोस् भन्ने हाम्रो सानो प्रयास हो,” उनले भनिन् ।

न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरूको अनुहारमा खुसी झल्किएको थियो । जाडोयाममा न्यानो कपडा र विद्यालयका लागि आवश्यक सामग्री पाउँदा अभिभावक तथा शिक्षकहरू पनि उत्साहित भएका छन् । यस्ता सहयोगले शैक्षिक गुणस्तर सुधारमा मद्दत पुग्ने उनीहरूको भनाइ छ ।

सविना आनी जीवनबाट खुला आकाशतर्फ

ललितपुरको बुरुङचुलीमा जन्मिएकी सविना गोले सानैदेखि आनी बन्ने उद्देश्यले हुर्किइन् । सोही लक्ष्यअनुसार उनले शिक्षा–दीक्षा हासिल गरिन् र लामो समय गुम्बामा बसेर बौद्ध धर्मसम्बन्धी अध्ययन गरिन् । पछि उनले बौद्ध दर्शन र शान्ति अध्ययन (Buddhism and Peace Studies) मा स्नाकाेत्तरसम्मकाे अध्ययन पनि पुरा गरिन् ।

 

सविना गाेले तामाङ-महिला राइडर

तर समयसँगै उनलाई गुम्बाबाहिरको खुला संसार बुझ्ने चाहना जाग्यो । सीमित घेराभन्दा बाहिर उड्न मन लाग्यो । अन्ततः उनले आनी जीवन त्याग्दै सामान्य जीवन रोजिन्- जहाँ डरभन्दा जिज्ञासा धेरै थियो र सीमाभन्दा सम्भावना ठूलो थियो ।

आज सविनाका लागि बाइक राइड केवल यात्रा होइन- स्वतन्त्रताको प्रतीक हो । घाम होस् या पानी, उकालो होस् या कच्ची बाटो कुनै कुराले उनलाई रोक्दैन । उनी समाजका लागि केही न केही दिन चाहन्छिन् त्यसैले उनी लायन्स क्लबमार्फत पनि सेवाका हातहरू अघि बढाइरहेकी छन् । 

सविना मात्रै होइन, दुई पाङ्ग्रे क्वीन्सका सबै १० जना महिला राइडर उत्तिकै आत्मविश्वासी, साहसी र ‘क्रेजी’ छन् । जाे समाजका लागि केही न केही दिन चाहन्छन् । समाज जाेड्न चाहन्छन् । मुलुक बुझ्न चाहन्छन् । 

पर्यटन र सामाजिक सेवाको संगम

फरक–फरक क्षेत्रमा क्रियाशील महिला राइडरहरूको साझा अभियानका रूपमा स्थापित दुई पाङ्ग्रे क्वीन्स ले संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनलाई आफ्नो मुख्य उद्देश्य बनाउँदै अघि बढिरहेको छ । हाल समूहमा १० जना सदस्य आबद्ध छन् ।

संस्थाकी अध्यक्ष तुलसा पहाडीसहित सुस्मिता अधिकारी, मुस्कान तामाङ (बेबो), सविना तामाङ गोले, सानु भण्डारी, दिक्षा बस्नेत, इशु उप्रेती, मनिषा विष्ट, पविना खड्का र रूपी समूहका सक्रिय सदस्य छन् ।

समूहमा प्रोफेसनल राइडरदेखि विभिन्न पेशा र पृष्ठभूमिबाट आएका महिलाहरूको सहभागिता छ । उनीहरू पर्यटन, संस्कृति, शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा निरन्तर काम र सहयोग गर्दै आएका छन् ।

दुई पाङ्ग्रे क्वीन्सकी प्रमोटर तथा मोटो भ्लगर सुस्मिता अधिकारीका अनुसार धादिङको विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षासहित यो यात्रा तय गरिएको हो । धादिङकै भएकाले उनको सक्रियतामा राइडर टोली जिल्लाको दुर्गम भूभागसम्म पुग्न सफल भएको हो ।

“सन् २०२३ देखि काम गर्दै आएको हाम्रो संस्थाले राजधानीसँग जोडिएको तर अझै ओझेलमा परेको, अथाह सम्भावना बोकेको धादिङ जिल्लालाई देशभर चिनाउन योगदान पुर्‍याउने लक्ष्य राखेको छ,” उनले भनिन् ।

“रुवीभ्यालीको पाङसाङ भनेपछि मानिसहरू हुरुक्कै हुन्छन् । हाम्रो टोली पुगेर फर्किएको छ । धादिङ साँच्चै स्वर्ग छ, एकपटक घुम्न आउनुहोला,” उनले थपिन् ।

पाङसाङ पासदेखि स्थानीय सम्मानसम्म

राइडका क्रममा महिला राइडरहरूको टोली धादिङकै सर्वोच्च मोटरेबल पास ‘पाङसाङ पास’ सम्म पुगेको थियो । महिला राइडरहरू अग्रपङ्क्तिमा रहेर पाङसाङ पाससम्म पुग्नुले धादिङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको स्थानीयहरूको भनाइ छ ।

न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले दुई पाङ्ग्रे क्वीन्सका महिला राइडरहरूलाई धन्यवाद दिँदै पर्यटन प्रवर्द्धनमा निरन्तर जोड दिन आग्रह गरे ।

पछाडि परेको रुवीभ्यालीलाई सबैले साथ र सहयोग गर्न सके रुवी जस्तै चम्किने उनले बताए ।

धादिङ पुगेको महिला राइडरहरूको समूहले नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानासँग पनि भेटघाट गरी धादिङको विकास र पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरेको थियो ।

लामो यात्रा, गहिरो सन्देश

महिला राइडर टोली धादिङबेसी, खनियाबाँस, शेर्तुङ, तिप्लिङ, पाङसाङ, पार्वती कुण्ड, रसुवा र नुवाकोट हुँदै संघीय राजधानी काठमाडौं फर्किएको हो ।

राइडका क्रममा स्थानीय निकाय र समुदायबाट न्यानो स्वागत पाएको संस्थाकी संस्थापक पहाडीले बताइन् । यस क्रममा विशेष सहयोग पुर्‍याएकोमा रुवीभ्याली स्वास्थ्य शाखा प्रमुख राजु तामाङप्रति पनि दुई पाङ्ग्रे क्वीन्सले धन्यवाद व्यक्त गरेको छ ।

सविना गोले र उनका साथीहरूको यात्रा केवल मोटरसाइकल राइड मात्र होइन-यो महिला नेतृत्व, सामाजिक उत्तरदायित्व, साहस र सांस्कृतिक चेतनाको कथा हो ।
जहाँ बाटोको धुलोले होइन, उनीहरूको उद्देश्यले गन्तव्य चिनिन्छ ।

 

तपाईँको मत