दिगोविकास

नेपाली महिला क्रिकेट टोलीले आज भुटानको सामना गर्दै

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानको सामना गर्दैछ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकी नेपालले पहिलो खेलमा हार व्यहोरेको छ ।

सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो । नेपाललाई हङकङले ६ विकेटले हराएको थियो ।

 भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।

छनोटमा ६ टिम सहभागी छन् ।  छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार  युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

गाउँ सहर संवाददाता